News Portal

डीसीसीएमसी पर्साले विद्युत महसुल भुक्तानी नगर्दा ठाकुर राम क्याम्पसलाई ठूलो आर्थिक भार

रातोपोस्ट संवाददाता
४९२ पटक

वीरगन्ज, २४ जेठ ।जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र पर्साले विद्युतको रकम भुक्तानी नगर्दा ठाकुर राम बहुमुखी क्याम्पस मर्कामा परेको छ । लामो समयदेखि विद्युतको रकम भुक्तानी नहुँदा ब्याज बढ्दै गएकोले क्पामप्समा आर्थिक भार थपिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले विद्युत महसुल नबुझाउँदा ठाकुरराम बहुमुखी क्याम्पस मर्कामा परेको हो । कोरोनाको पहिलो लहरमा संक्रमितको कन्टेक्ट ट्रेसिङमा परेकाहरुलाई राख्नका लागि बनाइएको ठाकुरराम बहुमुखी क्याम्पस क्वारेन्टाइनको विद्युत महसुल नतिर्दा समस्या उत्पन्न भएको क्याम्पस प्रमुख उमेश कुमार चौरसियाले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण नेपालमा देखिएपछि संक्रमितको कन्टेक्ट टे«सिङ्गमा परेकाहरुलाई राख्नको लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले ठाकुरराम बहुमुखी कयाम्पससहित सिद्धार्थ स्कुल, त्रिजुद्ध स्कुललगायतका सार्वजनिक सँस्थानहरुलाई क्वारेन्टाइन बनाएको थियो । त्यो बखत करिब ८ महिनाको अवधिसम्म प्रयोग भएको ठाराब क्याम्पसमा खपत भएका विद्युतको महसुल हालसम्म भुक्तानी गरिएको छैन ।

जसको कारण विद्युत प्राद्यिकरणले पटक–पटक भुक्तानी गर्न ताकेता गरि रहेको क्याम्पस प्रमुख चौरसियाको भनाइ छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र पर्सा र ठाकुरराम बहुमुखी क्याम्पसका तात्कालीन क्याम्पस प्रमुख प्रमोद कुशवाहाबीच क्वारेन्टाइन सेन्टर बनाउन क्याम्पसको भवन प्रयोग गर्ने र सो अवधिभरमा प्रयोग भएको विजुलीको रकम कोभिड संकट व्यवस्थापन केन्द्रले भुक्तानी गर्ने मौखिक सम्झौता भएको थियो । तर, १४ महिना बितसिक्दा पनि विद्युतको रकम भुक्तानी नहुँदा ठाकुरराम बहुमुखी क्याम्पसलाई ठूलो आर्थिक भार थपिएको छ ।

आयश्रोत न्यून रहेको ठाराब क्याम्पसलाई आन्तरिक खर्च धान्न पनि धौधौ परिरहेको अवस्थामा विद्युतको रकम भुक्तानी नगर्दा झनै भार थपिएको क्याम्पस प्रमुख कुशवाहाको भनाइ छ । रकम भुक्तानीका लागि बारम्बार पर्साका प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिँदा पनि कुनै सुनुवाई नभएको चौरसिया बताउछन् । उनले यसअघि कोरोनाको पहिलो लहरमा प्रमुख जिल्ला अधिकारी रहेका आस्मान तामाङ्ग र दोश्रो लहरमा पिताम्बर अधिकारीलाई समेत निवेदन दिइसकेको तर कसैले वास्ता नगरेको र आश्वासनमात्रै पाएकोले समस्या उत्पन्न भएको बताए ।

क्याम्पसले सो बेलाको १०/११ लाख रुपैया विद्युत प्राधिकरणलाई तिनुपर्नेछ । समयमा भुक्तानी नगरिँदा ब्याज माथि व्याज थपिदै गएकोप्रति क्याम्पस चिन्तित बनेको छ । नेपाल विद्युत प्राधिकरणले बाकीँ रकम भुक्तनी नगरे विद्युत काटी दिने भन्दै बारम्बार ताकेता गरिरहेको उनको भनाइ छ । पुरानौ रकम बक्यौता रहेकोले अहिले खपतभएको विद्युतको रकम बुझाउन जाँदा पनि बुझ्न नमान्ने गरेको उनको भनाइ छ ।

त्रिभुवन विश्वविद्याालय अन्तर्गतको ठाकुरराम बुहुमुखी क्याम्पसलाई कर्मचारी तलब बाहेकको सम्पूर्ण खर्च क्याम्पस आफैले धान्नु पर्ने बाध्यता छ । विद्यार्थीहरुबाट लिने शूल्कबाट नै क्याम्पसले आफ्नो आन्तरिक खर्च धानिरहको छ ।

यसबारे जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले ठाकुराम क्याम्पसले विद्युत महसुल तिर्न दिएको विवरण बजेट भन्दा बढी रहेकोले त्यो बेला भुक्तानी गर्न नसकिएको बताए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई प्रदेश सरकारले दिएको सीमित बजेटले त्योबेला अन्य अत्यावश्यक सामाग्रीहरु खरिद गरिएको भन्दै बजेट सकिएको कारण विद्युत महसुल तिर्न नसकिएको बताए ।

क्याम्पसले दुई तीन पटक निवेदन दिएको छ, निवेदनमा उल्लेखित रकमको विषयमा जाँचबुझ गर्न आफू र विद्युत प्राद्यिकरणको इन्जिनियर सहितको समिति गठन भएको छ, त्यसले दिएको प्रतिवेदन अनुसार डीसीसीएमसीले उक्त रकमको भुक्तानी गर्ने बताए । उनले अहिले निर्वाचनलगायत विभिन्न कारणले जिल्ला प्रशासन कार्यालयको सेवाको चाप बढेकोले त्यो समस्याको समाधान गर्न नसकिएको भन्दै आउँदा एक हप्ता भित्र उक्त समितिले मूल्याँकन गरि डिसिसिएमसिलाई सिफारिस गरिने बताए ।

कोरोनाको पहिलो चरणमा निषेधाज्ञा जारी भएपछि २०७६ सालको चैत्रदेखि २०७७ साल कात्तिकसम्म करिब ८ महिनासम्म ठाकुरराम क्याम्पसलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो । सो बखत संक्रमितहरुको कन्टेक्ट टे«सिङ्गमा आएका नेपाली तथा भारतीय नागरिकहरु गरि करिब ५ सय जना बसेका थिए । सो बखत क्याम्पसमा फोहर हुनुका साथै केही डेक्स, बेन्चहरुमा क्षति भएको थियो तर त्यसको मर्मत क्याम्पस मफैले गरिसकेको छ भने विद्युत महसुल ठूलो रकम भएकोले सम्बन्धित निकायलाई पटक पटक भुक्तानीको लागि तोकता गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्