News Portal

काठमाडौंमा अब फोहोर संकट आउन नदिन ६ वटा काम गरौं : गगन थापा

रातोपोस्ट संवाददाता
२९८ पटक

काठमाडौं, २९ जेठ । सांसद एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिका फोहोरको यस्तै सङ्कट आउन नदिन केही काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा भनाइहरू पोस्ट गर्दै उनले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय रहेको बताउँदै सम्झौता भनेकै समय सीमाभित्र कार्यान्वयन गरेर चिर्न सुझावसमेत दिएका छन् । उनले अहिल्यैबाट आ–आफ्नो जिम्मामा परेका काम गर्दै गएमा फेरि १७६ औं पटक सम्झौता गर्नुनपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्–

“काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र शहरी विकास मन्त्री रामकुमारी झाक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय छ । अब फेरी फोहोरको यस्तै सङ्कट आउन नदिन केहि काम तत्काल र तदारुकताका साथ गर्नुपर्ने छ ।

१. शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल (बन्चरेडाडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औं सम्झौता हो । हरेकपटक सङ्कट परेपछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन । त्यसैले, सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ । यो स्वाभाविक संशयलाई यो पटक सम्झौता अक्षरस र भनेकै समय सीमाभित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ ।

२.यसको लागि संघीय सरकारले गर्ने भनि निर्दिष्ट गरिएको काम यसपटक एक ठाउँमा पनि नचुकी भनिएकै समयभित्र गर्न शहरी विकास मन्त्रालय को निरन्तर तदारुकता जरुरी छ । सम्झौतामा लेखिएका केही काम शहरी विकास मन्त्रालयभन्दा अन्य मन्त्रालयको क्षेत्राधिकारभित्र पर्छ । ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ । खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुङ्गयाउन पर्छ । कानुनबमोजिम तोकिएपछि मानसिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ ।

३. संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजिकरण समेत गर्न काठमाडौं, धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समिति प्रस्तावित गरेका छौं । यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए नभएको अनुगमन गर्ने छौँ, कहीँ अप्ठ्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ । समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नुपर्ने छ ।

४. काठमाडौं महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनि निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ । कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले कामनपालाई सम्पूर्ण साथ दिनुपर्छ ।

५. फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि कामनपासँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक छ ।

६. कामनपाले श्रावण १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेको छ । सम्पूर्ण महानगरबासीहरूले साथ दिएर यो अभियानलाई सार्थक बनाउनुपर्छ । कामनपाका सबै वडाहरूले किन्तुपरन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिना भरी आफ्नो वडाभित्र नगरवासीलाई सुसुचित गर्नेलगायत सम्पूर्ण तयारी गर्नुपर्छ ।

यसरी हामी प्रत्येकले आजैबाट, अहिल्यैबाट आ–आफ्नो जिम्मामा परेका काम गर्दै गयौं भने फेरि १७६ औं पटक सम्झौता गर्नुपर्ने अवस्था आउँदैन । काठमाडौं फोहोरको संकटबाट मुक्त हुन्छ ।

प्रतिकृया दिनुहोस्