News Portal

काठमाडौँका मेयर बालेन्द्रले भने – तीन दिन भित्रमा ‘ब्रुमर’ सञ्चालनमा ल्याउँछु

रातोपोस्ट
३३३ पटक

काठमाडौँ, २९ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिन भित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन् । प्रमुख साहको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले ब्रुमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन् ।

चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए । नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने प्रमुख साहले बताए ।

विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमबार बैठक बसेर समन्वय बढाइने उनले बताए । बैठकका प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रमुख साहले महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाइने बताए ।

समन्वय कायम गरेरै अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने उहाँले बताए । साहले भने, `साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो । यो सबैसँगै हुनुपर्छ ।`

उपप्रमुख सुनिता डङ्गोलले पूर्वतयारीसहित गरिएको बैठक उपलब्धिमूलक भएको बताइन् । साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उनको भनाइ छ । बैठकले नगरसभाको ११औँ अधिवेशन आगामी असार ५ गते गर्ने निर्णय गरेको छ । बैठकले उपप्रमुख डङ्गोलको अध्यक्षतामा स्थानीय राजश्व परामर्श समिति गठन गरेको छ । रासस

प्रतिकृया दिनुहोस्