News Portal

राज्यमन्त्री वली लुम्बिनी प्रादेशिक अस्पताल भर्ना

रातोपोस्ट संवाददाता
२९५ पटक

बुटवल, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् ।राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले बताए । उनको मेडिकल विभागका फिजिसियनहरूले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिए । वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको उनले बताए ।

रगतलगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डा. ढकालले बताए । मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई हातपातसहित अभद्र व्यवहार गरेपछि पक्राउ परेकी वली रातारात बुटवल ल्याइएकी थिइन् । वली मंगलबार दिनभर जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएकी थिइन् । राज्यमन्त्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीको दबाबमा मंगलबार राति नै दाङबाट बुटवल ल्याएको हो ।

प्रदेश सभा बैठक र बहालवाला मन्त्री भएको कारण देखाउँदै बुटवल पठाइदिन सरकारले आग्रह गरेपछि मंगलबार राति ११ बजे खत्रीलाई बुटवल पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।राज्यमन्त्री वलीमाथि मंगलबार बिहान ८ बजेतिर सरकारी सुरक्षा गार्डसहित तुलसीपुर–५ निवासी प्रेमी भनिएका एक व्यक्तिको घरमा गएर उनकी पत्नी र छोरीमाथि हातपात र अभद्र व्यवहार गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीविरुद्ध राजयमन्त्री वलीका प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मिना भण्डारी बस्नेतले अभद्र व्यवहारमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी छन् । तर जाहेरी दर्ता भएको छैन । एसपी काफ्लेले मिनाका श्रीमान् एकराज बस्नेतलाई पनि नियन्त्रणमा लिएपछि घटनाबारे थप अनुसन्धान हुने र त्यसका आधारमा अन्य प्रक्रिया थालिने बताए ।

दाङ ३ ख बाट एमालेबाट निर्वाचित सांसद उत्तरकुमार वलीको कार दुर्घटनामा परी निधन भएपछि २०७६ मंसिर १४ मा भएको उपनिर्वाचनमा विमला तत्कालीन नेकपाबाट प्रदेश सांसदमा निर्वाचित भएकी हुन् । नेकपा विभाजनपछि उनले माओवादी केन्द्र रोजेकी थिइन् ।गत वर्ष साउनमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सचिवालय र एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल लगायतले आफूलाई अपहरणको शैलीमा दाङबाट बुटवल ल्याएर मुख्यमन्त्री निवासमा तीन दिन बन्धक बनाएको आरोप लगाएकी थिइन् ।

प्रतिकृया दिनुहोस्