रातोपोस्ट संवाददाता
मोरङ, २० असार । मोरङमा अवैध उत्खनन गरी गिट्टी, बालुवा ढुङ्गा बोक्ने ९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । सरकारले तीन महिना नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको बेलामा मोरङको केराबारी–८ स्थित खदम खोला, केराबारी–७ स्थित मुगु खोला, सुन्दरहरैचा–५ स्थित बुढीखोला र बेलबारी–२ स्थित लोहन्द्रा खोला दोहन भइरहेको छ ।
सो खोलाबाट अवैध रुपमा गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ९ वटा सवारी नियन्त्रणमा लिएको हो । प्रहरीले चार वटा टिपर, चार वटा ट्याक्टर, एउटा जेसिवी र तीन जना चालकलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ९ वटै सवारी साधनसहित चालकहरूलाई आवश्यक कारबाहीको लागि बेलबारी नगरपालिका र केराबारी गाउँपालिकामा बुझाइदिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।