News Portal

रामेछाप बस दुर्घटना : घाइतेको उपचारमा काभ्रे कांग्रेसको पहल

रातोपोस्ट संवाददाता
३०६ पटक

रामेछाप, २१ असार । रामेछाप बस दुर्घटनाका घाइतेको उपचारमा काभ्रे कांग्रेसले पहल थालेको छ । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तीर्थ लामासहित कांग्रेस नेताको टोलीले घाइतेहरूको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगी घाइतेहरूको अवस्था र अन्यत्र रिफर गर्नुपर्ने घाइतेहरूलाई थप उपचारको पहल थालेको हो।

संविधानसभा सदस्यसमेत रहेका जिल्ला सभापति लामा, प्रमुुख जिल्ला अधिकारी हुमकला पाण्डे, काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशी, कांग्रेस जिल्ला सदस्य चेत लामा, कांग्रेस तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर लामालगायतको टोलीले घाइते र आफन्तहरूलाई भेटेर स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

रामेछापको सुनापती गाउँपालिका– ३ हिलेदेवीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३ख ८३९६ नम्बरको यात्रुबाहक बस खाँडादेवी गाउँपालिका– १ लुभुघाटमा आज बिहान दुर्घटना भएको थियो। बस सडकको मोडबाट करिब सय मिटर तल खस्दा नौजनाको घटनास्थलमै मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए। दुर्घटना भएको बसमा रामेछाप र काभ्रेका यात्रु सवार रहेका थिए। घाइतेलाई हेलिकोप्टर, एम्बुलेन्स र जिपमार्फत धुलिखेल अस्पताल ल्याइएको थियो । हालसम्म बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार जारी छ।

प्रतिकृया दिनुहोस्