News Portal

वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैंकको पहल

रातोपोस्ट संवाददाता
२९१ पटक

काठमाडौं, २८ असार । ग्लोबल आइएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरुपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरुलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराएका थिए । “यसमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिषा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरुले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकता अनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ,” उनले भने ।
ढकालले आइएमई समूहले नेपाल सरकारको प्राथमिकता र मुलुकको आवश्यकता अनुरुप आफ्ना व्यवसायिक गतिविधिहरु अगाडि बढाउँदै आएको बताए । ‘आइएमई रेमिट हामीले सुरु गरेको २२ वर्ष पुगेको छ । विगत २२ वर्षमा आइएमईले नेपालमा औपचारिकमाध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेको छ । हामीले रेमिट्यान्स सेवा सुरु गर्दा मुलुकमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन रेमिट कम्पनीको आवश्यकता थियो । आज आइएमई नाम आफैमा रेमिटको पर्यावाची बनेको छ । अन्य बैंक तथा रेमिट कम्पनीहरुमा जाने ग्राहकहरुले पनि पैसा पठाउन पर्यो भने आइएमई गरिदिनुस् भन्ने गरेको पाइएको छ’, उनले भने ।

त्यसैगरी, अहिले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको र रेमिट्यान्सको आप्रवाह पनि घटेको अवस्थामा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप बैदेशिक लगानी भित्र्उनु पर्ने उनले बताए । उनले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरुले भूमिका खेल्नुपर्ने बताए । गैर आवासीय नेपाली संघसँग आफूहरुको सहकार्य सुरु भइसकेको बताउँदै उनले गैर आवाशीय नेपालीहरुले स्थापना गरेको एनआरएन फन्डबाट लगानी जुटाई लमजुङ जिल्लामा २७ मेगावाटको जलविद्युत आयोजना निर्माण सकिएर टेस्टिङ्गको चरणमा रहेको बताए ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पारेका थिए । कार्यक्रममा श्रृजनशील लेस्टर नेपाल, युकेका पदाधिकारीहरु, गैर आवाशीय नेपाली संघका प्रतिनिधिहरु तथा नेपाली समुदायको ठूलो सहभागिता रहेको थियो । यसअघि नेपलिज एकाउन्टेन्स् एशोशिएसन, युकेसँगको अन्तरक्रियामा बैंकका अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीका लागि युकेका व्यवसायी तथा लगानीकर्ताहरुलाई सहजीकरण गर्न एशोशिएसनलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस्