News Portal

सिभिल सहकारी ठगी प्रकरण: पूर्वअध्यक्ष इच्छाराज तामाङकी पत्नी सिर्जना पक्राउ

रातोपोस्ट संवाददाता
३०५ पटक

काठमाडौं, ३ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगी सम्बन्धि कसूर तथा संगठित अपराधमा फरार एक महिलालाई पक्राउ गरेको छ। सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाकी लेखा समिति सदस्य ५७ वर्षीया सिर्जना शाक्य (तामाङ)लाई मंगलबार रामशाहपथबाट पक्राउ गरिएको ब्यूरोका एसपी श्याम कुमार महतोले जानकारी दिए।

सिर्जना सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङको श्रीमती हुन्। इच्छाराजसहित १२ जनाविरुद्ध सीआईबीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । इच्छाराज र केशवलाल श्रेष्ठ हाल पुर्पक्षका लागि थुनामा छन्। इच्छाराज थुनामै रहेको बेला उनकी पत्नी सिर्जनालाई ब्यूरोले पक्राउ पूर्जी जारी भएको ६ महिनापछि नियन्त्रणमा लिएको हो। सिर्जनाविरुद्ध २०७८ साल पुस २७ गते पक्राउ पूर्जी जारी भएको थियो। त्यो बेलादेखि उनी फरार थिइन्।

ब्यूरोले सिभिलका पूर्वअध्यक्ष इच्छाराजसहित १२ जनाविरुद्ध आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभनमा ठूलो संख्यामा बचतकर्ताहरुलाई सहकारीमा रकम जम्मा गर्न लगाई संगठित रुपमा पाँच अर्ब ८४ करोड ४० लाख २१ हजार ७१३.१० रुपैयाँ ठगी गरेको कसूरमा मुद्दा चलाएको छ। विगत तीन वर्षदेखि आफूले बचत गरेको रकमको सावा तथा ब्याज पटक पटक अनुरोध गर्दासमेत नपाएको भन्दै १ हजार ५३० जना पीडितले ब्यूरोमा जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा २०७८ मंसिर १७ गते इच्छाराजसहित १२ जनालाई पक्राउ गरेर मुद्दा चलाएको हो।

प्रतिकृया दिनुहोस्