News Portal

समाजवादी केन्द्र बनाउने प्रयास : माओवादीको चुनाव चिह्नलाई साझा बनाउन छलफल

रातोपोस्ट संवाददाता
२९८ पटक

काठमाडाैँ, १० श्रावण । लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टामा प्रमुख समाचारसहित उपस्थित भएका छौँ–चुनावअघि नै नेकपा समाजवादी केन्द्र बनाउनेबारे नेताहरुबीच छलफल तीव्र बनेको छ । त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाबाट कारबाहीमा परेका डा बाबुराम भट्टराई समूह, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलगायतबीच विभिन्न चरणमा छलफल भएको छ । छलफलका क्रममा एकै चुनाव चिह्न लिएर आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जान प्रस्ताव भएको छ।

नेताहरुबीच यसबारे घनीभूत छलफल भइरहेको एक नेताले बताए । ती नेताका अनुसार माओवादी केन्द्रको हँसिया हथौडा अंकित चुनाव चिह्नलाई साझा बनाएर अघि बढ्नेबारे छलफल केन्द्रित भएका छ । माओवादीको चुनाव चिह्न २०६४ को चुनावमा पहिलो दल समेत बनेको तथा जनतामाझ परिचित पनि रहेकाले सो उपयुक्त हुनेबारे नेताहरुमा छलफल भइरहेको हो ।

यसैबीच माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच सोमबार भेटवार्ता भएको छ । प्रचण्ड र गौतम बीचको भेटमा समाजवादी केन्द्रको एकता संयोजन समिति बनाउने विषयमा नै छलफल भएको बताइएको छ । छलफल सकेर बाहिरिने क्रममा गौतमले आफूहरूको नेता प्रचण्ड भएको भन्दै बाँकी कुरा उनैलाई सोध्न पत्रकारलाई भनेका थिए । समाजवादी केन्द्रको एकता संयोजन समितिको संयोजक पनि प्रचण्डलाई नै बनाउन लागेको संकेत गौतमले गरेका छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर समाजवादी केन्द्रले के गर्छ भनेर प्रश्न गरेका छन् । उनीहरूबीच सोमवार सिंहदरबारमा भेटवार्ता भएको हो । माओवादी केन्द्रका नेता शक्ति बस्नेतसँग भेटवार्ता गर्न माओवादी संसदीय दलको कार्यालयमा भुसाल पुगेका थिए । सोही बेला प्रचण्ड पनि संसदीय दलको कार्यालयमै रहेकाले भुसाल र प्रचण्डबीच केहीबेर कुराकानी भएको हो । सोही क्रममा भएको भेटमा प्रचण्डले समाजवादी केन्द्र बनाउन लागेको विषय भुसाललाई जानकारी गराएका थिए । त्यसक्रममा भुसालले एमाले बाहेकको मोर्चाले के गर्छ र भनेर प्रश्न गरेका थिए ।भुसालले समाजवादी केन्द्र वा मोर्चा बनाउने भए एमाले पनि अटाउने गरी मोर्चा बनाउनुहोस् भनेपछि २ नेताहरूबीच केहीबेर हाँसोठट्टा चलेको थियो ।

सरकारले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । गृहमन्त्रालयले सोमवार देशभरका २३८ जना डीएसपीहरूको सरुवा गरेको हो । साउन १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच घुस लेनदेनको विषयमा कुराकानी भएको भनेर सार्वजनिक भएको अडियोमा रहेको आवाज आफ्नो नभएको जवाफ अधिवक्ता पोखरेलले दिएका छन् ।नेपाल कानून व्यवसायी परिषद्ले सोधको स्पष्टीकरणको जवाफ दिँदै पोखरेलले आफ्नो आवाज नभएको दाबी गरेका हुन् ।

आइतवार राति अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ ।जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दीपेश रिजालका अनुसार मृत्यु हुनेमा अन्दाजी वर्ष २५–२६ का वीरेन्द्र विष्ट, वर्ष ४५ की हरिकला विष्ट र वर्ष १५ का संविधान विष्ट रहेका छन् ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनसम्म नै वर्तमान सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।

४४औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीले सोमवार पोखरामा आयोजना गरेको विचार गोष्ठीमा उनले प्रतिगमन रोक्न, संविधान र संघीयता जोगाउन ५ दलीय गठबन्धन बनाएर चुनावमा जानुपरेको बताए ।ट्राफिक प्रहरीले ट्राफिक नियम विपरित ठुलो अवाज निकाल्ने रोयल इनफिल्ड मोटरसाइकल चालकलाई कारबाही थालेको छ । मोटरसाइकलको साइलेन्सरको पछाडि पातामा रबर राखी ठूलो आवाज निकाल्ने ८९ जना मोटरसाइकल चालकहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नेपालले साफ यू–२० च्याम्पियनशिप पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रङगशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । नेपालको जीतमा दीपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले समान एक–एक गोल गरे ।

कर्णाली प्रदेशसभाको बैठकमा दुईवटा विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीहरुको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको हो ।

नेपाली पत्रकारिताको इतिहासमा ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरेको हो । पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान गरेका पत्रकार त्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पदमभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको छ ।कोरोना भाइरसको संक्रमणका कारण सोमवार एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा एक जनाको निधन भएको उल्लेख छ ।

यस्तै सोमवार चार हजार ८०० परीक्षणमध्ये ५६८ जनामा संक्रमण देखिएको छ । सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ रहेको छ । त्यसैगरी विगत २४ घण्टामा ९५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार पनि उच्च अंकले उकालो लागेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि आइतवार पनि नेप्से परिसूचक उच्च अंकले बढेको थियो । बजारले सोमवार पनि सोही लय पछ्याउँदै अगाडि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५४.४५ अंकले उकालो लागेर २ हजार १३२.९६ मा पुगेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उनी उपस्थित कार्यक्रममै नाराबाजी भएको छ । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाविरुद्ध नाराबाजी भएको हो ।प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई–मधेश द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ । सोमवार बसेको समितिको बैठकले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निस्कर्ष निकालेको छ ।

लोक गायिका दिलमाया कामी सुनवारको हत्या गरेको अभियोग लागेका उनका प्रेमी पुर्पक्षका लागि कारागार चलान भएका छन् । असार ११ गते काठमाडौको तारकेश्वर ११ डेरामा बसेकी दिलमाया मृत फेला परेकी थिइन् । त्यसको अर्को दिन उनका प्रेमी सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । प्रहरीले उनले नै हत्या गरेको प्रतिवेदन सरकारी वकिलमार्फत अदालतमा लगेको थियो । त्यही प्रतिवेदनका आधारमा उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्