काठमाडाैँ, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिरहेका सांसद गिरीको स्वास्थ्यबारे जानकारी लिँदै उनको स्वास्थ्यलाभको कामना गरेकी हुन्।
बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा.उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहेकी थिइन्।
यसअघि आजै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। प्रतिनिधिसभा सदस्य गिरी लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए।
नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन ९ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। डा.पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेका छन् ।