विराटनगर, २८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उद्धव पौडेलले अब मुलुकको प्रधानमन्त्री पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन बन्ने दाबी गरेका छन्।
पुराना शक्तिमा मतदाताको भरोसा टुटेको र नयाँ समूहसँग विश्वास पैदा भइनसकेको अवस्थामा आगामी निर्वाचनबाट पार्टीले चामत्कारिक परिणाम ल्याउने र पार्टी अध्यक्ष लिङ्देन मुलुकको प्रधानमन्त्री बन्ने उनको भनाइ छ।
‘राप्रपाले शासकीय स्वरूप, शिक्षा, स्वास्थ्य, न्याय, रोजगारी सिर्जना, पूर्वाधार निर्माण, विकास, समृद्धि जस्ता विषयमा जनता सामु भरपर्दो विकल्पअगाडि सारेको छ। इतिहासको सम्मान, धर्म, संस्कृति, परम्पराको संरक्षण राप्रपाले गर्छ। जनताले एजेन्डा मन पराएका छन्,’ राप्रपाको कार्यसम्पादन समितिका सदस्य पौडेलले भने।
विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भने, ‘यो निर्वाचनमा सिंगो देशले नै नेतृत्व परिवर्तन चाहिरहेको अवस्था छ। आम जनसमुदायले राजेन्द्र लिङ्देनको नेतृत्व देख्न चाहिरहेका छन्। स्वभाविक रूपमा राप्रपाले देशको नेतृत्व गर्ने अवस्था आउँदा पार्टीले राजेन्द्रलाई नै प्रधानमन्त्रीका रूपमा अगाडि बढाउँछ। अबको प्रधानमन्त्री राजेन्द्र लिङ्देन हुन्।’
लिङ्देनले राप्रपाभित्र नेतृत्व परिवर्तनका लागि गरेको संघर्ष र सफलताबाट स्थानीय तहको निर्वाचन र आगामी निर्वाचनका लागि युवा उम्मेदवारीको आकर्षण बढेको उनको दाबी छ।
यथास्थितिमा देशअगाडि बढ्न सक्दैन भन्ने निस्कर्ष निकालेर मुलुक बदल्न सम्भव छ भन्ने जागरणसहित राप्रपाले यो निर्वाचनलाई अवसरका रूपमा लिएको पौडेलले बताए।
‘क्रान्ति, परिवर्तन र आन्दोलनका नाममा हामीले धेरै वर्ष खेर फाल्यौं। ३०/४० वर्षअघि हामीसरह रहेका देश धेरैअगाडि बढिसके,’ उनले भने, ‘हामी अझै पनि गरिबी, पछौटेपन, रोग, भोक र अशिक्षासँग जुधिरहेका छौँ। आम मतदातालाई परिवर्तनका पक्षमा मतदान गर्न आह्वान गर्छौं।’
उनले ठूला भनिने दल र नेताहरुको गलत नीति, गलत शैली र अकर्मण्यताका कारण वर्तमान राजनीतिप्रति वितृष्णा जागिरहेको बेला राप्रपामा नेतृत्व परिवर्तन भएपछि युवाहरु राजनीतिमा समाहित हुने लहर चलेको बताए। पौडेलले यसपटक प्रत्यक्षतर्फ २० सिटभन्दा बढी जित्ने र समानुपातिकमा राप्रपा पहिलो दल बन्ने दाबीसमेत गरे।
‘आगामी संसदमा राप्रपा हस्तक्षेपकारी शक्तिको रूपमा आउने छ। राप्रपा सत्ता हैन, मुद्दा केन्द्रित बन्छ,’ उनले भने, ‘सरकारको नेतृत्व गर्ने अवसर आउँदा जनमतको सम्मान गर्दै राप्रपा सरकारमा जान्छ र नेतृत्व गर्छ। त्यही भएकाले उच्च मनोबलका साथ चुनावमा होमिएका छौँ।’
राप्रपाले प्रतिनिधिसभातर्फ १४२ र प्रदेशसभातर्फ २८६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। नेता पौडेल प्रतिनिधिसभातर्फ राप्रपाबाट समानुपातिक उम्मेदवार हुन्।
विराटनगरमै जन्मिएका ६८ वर्षीय पौडेलले चलचित्र क्षेत्रमा निरन्तर ४ दशक विताए। नेपाली चलचित्र क्षेत्रको विकास, रोजगारी सिर्जनामा आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको र विगत १ दशकदेखि राजनीतिमा सक्रिय रहेको उनको भनाइ छ। पौडेल २०३९ सालमा विराटनगरको उपप्रधानपञ्च बनेका थिए।