News Portal

नारायणकाजी भन्छन् : भ्रष्टाचार गर्ने र आफू अनुकूल ऐन बनाउनेहरूका दिन गए !

रातोपोस्ट संवाददाता
२५१ पटक

काठमाडौं ११ पुस । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नु र अनियमिततालाई कडाइपूर्वक रोक्नु सरकारको पहिलो काम हुने बताएका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु भएको बताए । उनले जनताले कानुनसम्मत रहेका कुनैपनि कामलाई भनसुन नगरिकन र घुस नखुवाइकन गर्नसक्ने बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

“यो सरकारको मुख्य उद्देश्य नै हामीले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु हो । यसअघि भएका सबै सकारात्मक कामहरूलाई आत्मासात गर्दै त्यसलाई निरन्तरता दिदैँ जहाँ–जहाँ कमजोरीहरू छन्, समस्याहरू छन् । त्यो कमजोरीलाई सच्याउने, समस्याहरूलाई समाधान गर्ने र समृद्धिमा फड्को मार्नु हो,” उनले भने ।

मन्त्री श्रेष्ठले भ्रष्टाचार गर्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोच्न चेतावनी दिए । उनले भ्रष्टाचार गर्नेहरू र आफू अनुकूल ऐन, कानुनहरू बनाउनेहरूको दिन गएको बताए । “भ्रष्टाचार गर्नेहरूले वा पैसालाई मात्र केन्द्रबिन्दुमा राख्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु । ऐन, नियमलाई आफैँ बनाउँछु भन्ने दिन गए भन्ठान्नुस्,” उनले भने ।

प्रतिकृया दिनुहोस्