झापा, १५ पुस । झापाको भद्रपुरमा नेपाल कानुन व्यवसायी परिषद् भेला तथा कानुन व्यवसायी आचार संहिता सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
परिषद्का संयोजक प्रेमप्रसाद पोखरेलको अध्यक्षता तथा महान्यायाधिवक्ता डा. दिलमणि पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा प्रदेश १ का १४ जिल्लाका कानुन व्यवसायी, सरकारी वकिल तथा प्रहरीका अनुसन्धान अधिकारीको सहभागितामा प्रशिक्षण सम्पन्न भएको हो ।
झापा बारका अध्यक्ष हरि अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा बार परिषद्का सदस्य डा. चन्द्रकान्त ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्दै वर्तमान ऐन, कानुन तथा पेसागत आचरण बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सहभागी कानुन व्यवसायीहरूले आचार संहिता पालनामा बार परिषद्का उपल्ला तहमा समस्या देखिएको भन्दै सबै कानुन व्यवसायी आचार संहिता पालनामा समान हुने धारणा राखेका थिए ।