News Portal

झापाकाे बौद्धमोडमा कृत्रिम हात खुट्टा वितरण हुने

रातोपोस्ट संवाददाता
४४० पटक

झापा, १६ पुस । झापामा अपाङ्गता भएका मानिसहरूलाई कृतिम हात खुट्टा वितरण गरिने भएको छ। ब्राह्मण अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगरको संयोजनमा जिल्लाका ६० जना हातखुट्टा नभएका वा समस्या भएका मानिसहरूलाई निःशुल्क कृतिम हात खुट्टा वितरण गरिने भएको आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हो ।

आगामी माघ २१ गते झापाको मेचीगर- २ बाैद्धमाेड ईग्लिस बाेडिङ्ग स्कुलमा स्वास्थ्य क्याम्पको आयोजना गरी अपाङ्गता भएका मानिसहरूको आवश्यकता अनुसार नाप लिने र त्यसपश्चात सो सामाग्री वितरण गर्ने पत्रकार सम्मेलनमा आयोजकले बताएको छ ।

अपाङ्गता भएका मानिसहरूले रकम अभावमा आफ्नो जिवनभरी कष्टकर तरिकाले जिवन व्यतित गर्नुपर्ने बाध्यकारी अवस्था धेरैमा रहेको अहिलेको अवस्थाको अन्त्य गर्नका लागि निःशुल्क कृतिम हात खुट्टा वितरण अभियान सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

पहिलो चरणमा झापा जिल्लाका ६० जनालाई निःशुल्क कृतिम हात खुट्टा वितरण गरिने छ भने, दोस्रो चरणदेखि प्रदेश हुँदै नेपालभरीका अपाङ्गता भएकाहरूलाई आवश्यकताको आधारमा सेवा प्रदान गर्ने योजना बनाएको आयोजक आयोजक ब्राह्मण अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौला बताउँछन् ।

नारायणी सेवा संस्था उदयपुर भारतको सहयोग तथा नेप इण्डीया फाउण्डेशन कालेम्पुङ्को समन्वयमा सञ्चालन हुने सो कार्यक्रमबाट सामान्य ५० हजारदेखि ३ लाख सम्मको लागत लाग्ने कृतिम हात खुट्टा आवश्यकताको आधारमा बिना शुल्क वितरण गरिने आयोजकले जनाएको छ । झापा भद्रपुर- ७ मा रहेकाे रुद्र-गाैरी श्री अम्बीका ओली प्रतिष्ठानले १ लाख ७७ हजार ६ सय रुपैयाँ सहयाेग गर्ने आयोजकले जानकारी दिएकाे छ ।

सचिन निरौलाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा नेप इन्डिया फाउण्डेसन कालेङ्पुंगकी अध्यक्ष इन्दिरा शर्माको उपस्थिति रहेको थियो । कार्यक्रममा बौद्धमोड कृषि सहकारी संस्थाका अध्यक्ष नरेन्द्र काफ्ले, नेपाल राष्ट्रिय अपाङ्ग पुर्नस्थापना बाहुण्डाँगीका अध्यक्ष युवराज बस्नेत, सहयोगी संस्था नेप इन्डिया फाउण्डेसनकी रुपमणी काफ्ले, स्थानीय समाजसेवी भिम चम्लगाई, रमेश रिजाललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सञ्चालन समाज सेवी केशर बहादुर बस्नेतले गरेका थिए ।

प्रतिकृया दिनुहोस्