News Portal

पूर्वी सिमामा रहेकाे मितेरी पुल आजदेखि सञ्चालनमा

रातोपोस्ट संवाददाता
४०५ पटक

झापा, १७ पुस । एसियाली देशहरुलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्ग छ लेनको मितेरी पुल आजदेखि सञ्चालनमा आएकाे छ । पूर्वीनाका काँकडभिट्टाको अन्तर्राष्ट्रिय सीमामा छ लेनको नयाँ पुल निर्माण भएको डेढ वर्षपछि आज सञ्चालनमा आएको हो ।

मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरुले आज दिउँसो १ बजे आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर सो पुल सञ्चालन ल्याएका हुन् । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले नेपालतिर र नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त छिरिङ शेर्पाले भारततिर पुलको रिबन काट्नु भएको थियो ।

काँकडभिट्टाबाट भारतको पानीटंकी नाका जोड्ने मेची नदीमा निर्मित ‘मितेरी पुल’ ५७५ मिटर लामो छ । पुलको सञ्चालन हुने जानकारी पाएपछि दिउँसो कार्यक्रममा सर्वसाधारण र स्थानीय सामाजिक व्यक्तिहरुको भीड लागेको थियो । सो अवसरमा जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, सुरक्षा निकाय र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेकाे थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७३ सालमा पुल निर्माणको सम्झौता गरेका थिए ।

एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना अन्तर्गत एसियाली विकास बैंकको भारतीय १ अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो । नयाँ पुल फराकिलो र सुविधाजनक भएको मेची भन्सार कार्यालयका प्रमुख पाठकले बताए । उनका अनुसार पुलबाट सबै प्रकारका यातायातका साधनले आवागमनको अनुमति पाएका छन् । दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइक र साइकललाई प्रवेश दिइने भएको छ ।

नयाँ पुल सञ्चालनमा नआउँदा पुरानो पुलमा यातायात र पैदल यात्रीलाई सास्ती भएकाे थियो । ट्राभल्स संघ झापाका अध्यक्ष निरबहादुर कार्की (नेत्र) ले नयाँ पुल पूर्णरुपमा सञ्चालनमा आएपछि नाकाको अस्तब्यस्तता हट्ने र यात्रीलाई सहज हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्