काठमाडौं, २१ पुस । तेस्रो देश पुनर्वास हुन नसकी झापा र मोरङमा रहेका भुटानी शरणार्थीको समस्या समाधान गर्न विश्व भूटानी हिन्दु संगठनले गृहमन्त्रीसमक्ष आग्रह गरेको छ। संगठनका अध्यक्ष कमल धिमालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तीन बुँदे सुझावसहितको ध्यानाकर्षण पत्र बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेका हुन्।
गृहमन्त्रीलाई भेटेर झापा र मोरङमा बसोबास गरिरहेका करिब सात हजार भूटानी शणरार्थीहरूको व्यवस्थापन गर्न आग्रह गरिएको अध्यक्ष धिमालले बताए। उनले शणार्थीहरूको व्यवस्थापनका लागि सरकारले आफ्नो साझा कार्यक्रममा समावेश गरी भुटान वा अन्तराष्ट्रिय निकायसँग छलफल गरेर उचित सामधान निकाल्न गृहमन्त्रीलाई आग्रह गरेका थिए।
यस्तै, बाँकीलाई पुनर्वासको प्रकृया पुनः सुरु गरी उचित व्यस्थापन गर्न र पुनर्वासको अन्य व्यवस्था नभएसम्म मानवीय सहयोग कायम राख्न पनि उनले बुँदागत रूपमा मन्त्रीसमक्ष माग गरेका थिए। भेटमा गृहमन्त्री लामिछानेले आफूलाई प्राप्त सुझावहरूको अध्यन गरी उचित निर्णय लिने प्रतिक्रिया दिएको अध्यक्ष धिमालले जानकारी दिएका छन्। सन् १९८० देखि ९० को दशकका केही वर्षहरूमा तल्कालीन भूटानी सरकारले पुस्तौंदेखि भूटानमा बसोबास गर्दै आएका नेपालीभाषी भूटानीहरूलाई चरम यातना दिई देश निकाला गरेको थियो। उक्त समय एकलाख नेपाली मूलका भूटानीहरू नेपाल प्रवेश गरेका थिए। नेपाल सरकारले झापा र मोरङका विभिन्न स्थानमा शरणार्थीलाई बसोवासको व्यवस्था मिलाएको थियो।
त्यसयता नेपाल सरकार र भूटान सरकारबीच शरणार्थीहरूको व्यवस्थापनका लागि पटक–पटक वार्ता हुँदा पनि भूटान सरकारको उदासीनताको कारण उनीहरूले घर फर्कन पाएनन्। सन् २००८ मा अमेरिका, युरोपका केही राष्ट्र, न्यूजिल्यान्ड र अष्ट्रेलियालगायत सातवटा राष्ट्रहरूले आफ्नो भूमिमा पुनर्वासको व्यवस्था मिलाएपश्चात् करिब १ लाख शरणार्थीहरू विश्वका विभिन्न राष्ट्रमा बसोबास गर्दै आएका छन्।