News Portal

सरकारलाई विश्वासको मत प्राप्त हुन्छ : अध्यक्ष ओली

रातोपोस्ट संवाददाता
२१३ पटक

काठमाडौं, २४ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन् ।

पार्टी जनसंगठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उनले आउँदो मंगलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गरे ।

‘वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो’, पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने । अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए ।

‘बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पु¥याउने एमाले हो, एमालेले कसैले नसोचेको अवस्थामा पु¥याउन सक्छ’, उनले भने । उनले एमाले सरकारमा वा प्रतिपक्षमा जहाँ रहे पनि देश र नागरिकको हितमा दृढतापूर्वक सक्रिय भइरहने बताए ।

अध्यक्ष ओलीले जनादेशको सही व्याख्या, सही विश्लेषण र सही सदुपयोग गरेको दाबी गर्दै देशको राजनीति अत्यन्तै अनौठो गतिमा परिवर्तन भएकोमा नेपाली राजनीतिमा चासो राख्ने अचम्मित भएको बताए । ‘निर्वाचनअघि भनेझैँ नयाँ जनादेशबाट सरकारअघि बढाउने योजना निर्वाचनपछि सफलतापूर्वक सम्पन्न गरेका छौँ, यसबाट नेपाली जनता खुसी छन्’, उनले भने ।

एमालेमा जनसङ्गठनको असाधारण महत्व रहेको उनको धारणा थियो । सोमबारसम्म सञ्चालन हुने कार्यशालामा २३ जनवर्गीय सङ्गठनका एक सय ३० पदाधिकारी सहभागी रहेका छन् ।

प्रतिकृया दिनुहोस्