News Portal

संखुवासभामा बाढीले बगाउँदा एक जनाको मृत्यु, १७ मजदुर सम्पर्कविहीन

रातोपोस्ट संवाददाता
१६७ पटक

खाँदबारी, ३ असार । संखुवासभाको हेँवा खोलामा गए राती आएको बाढीले बगाउँदा १ जनाको मृत्यु हुनुका साथै हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका छन् । बाढीले चैनपुर–४ दोभनेमा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोपावरमा क्षति पुग्नुका साथै त्यहाँ काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका हुन्। सम्पर्क विहीनहरुको खोजी कार्यसुरु भएको जिल्ला प्रहरी कार्यायले जनाएको छ ।

पाँचखपन नगरपालिका ५ स्थित हेँवा खोला किनारमा एक शव भटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका जनाएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा शवको भेटिए पनि शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकाको बीचमा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको उनले बताए। बाढी खोला किनारमा रहेको ७ भन्दा बढी घर बगाएको स्थानीले जनाएका छन् । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ७ घर बगाएको छ । हेंवा र पिलुवा खोलामा आएको बाढीका कारण भएको क्षतिको थप बिवरण आउँन बाँकी छ ।

प्रतिकृया दिनुहोस्