झापा, १० असार । हल्दिबारी गाउँपालिकाको बजेटसहितको नीति तथा कार्यक्रम पारित भएको छ । गाउँपालिकाको १५ औ गाउँ सभाले आर्थिक वर्ष २०८०/०८१ का लागि ४७ करोड ७४ लाख ३० हजार चास सय रुपैयाँको प्रस्तावित बजेट प्रस्तुत गरेको छ । कोशी प्रदेश सभा ३ (२) का सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यमा भएको गाउँ सभाले आइतबार उक्त बजेट सार्वजनिक गरेको हो ।
हल्दिबारी गाउँपालिका अध्यक्ष सभाध्यक्ष रवीन्द्र लिङ्देनले सभा सञ्चालन गरेका हुन्। गाउँ सभाको १५ औ पहिलो बैठकमा बजेट तथा कार्यक्रम तर्जुमा समिति सदस्य तथा हल्दिबारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले सभामा विनियोजन विधेयक २०८० सभामा पेस गरेकी थिइन ।
हल्दिबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४७ करोड ७४ लाख ३० हजार चास सय रुपैयाँको अनुमानित बजेट सभामा उपाध्यक्ष लक्ष्मी देवी मैनालीले प्रस्तुत गरेकी छिन्। गाउँपालिकाको चालु आर्थिक वर्ष ०७९/०८० मा ४६ करोड ४३ लाख ४४ हजार ६७० रुपैयाँको अनुमानित बजेट रहेकोमा आगामी आर्थिक वर्षका लागि १ करोड ३० लाख ८५ हजार सात सय तीस रुपैयाँ बढी बजेट ल्याएको छ । नीति तथा कार्यक्रम र बजेट माथिको छलफलको लागि असार १३ गते बिहान ११ बजे बैठक बस्ने गरी पहिलो बैठक समापन भएको छ।