रुपन्देही, १४ असार । बम पड्काउँदै फिरौती रकम माग गर्ने गिरोहका तीनजनालाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। रुपन्देहीको सियारी गाउँपालिका– ४ का २७ वर्षीय अब्दुल हाकिम खान, कोहटीमाई– ३ पर्सियाका २२ वर्षका सुरज लोहार र कोहटीमाई– ४ का सुरज थारूलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूलाई रुपन्देहीको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।
उनीहरू तीनैजना रुपन्देहीका विभिन्न स्थानमा बम पड्काउने र फिरौती रकम माग गर्ने आपराधिक कार्यमा संलग्न भएको प्रहरीको दाबी छ । गत मंगलबार पक्राउ परेका उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको आशंका प्रहरीको छ। प्रहरीका अनुसार २०८० वैशाख १ गते उनीहरूले सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरलाई लक्षित गरी पर्खालमा प्रेसर कुकर बम राखेका थिए। उक्त बम स्थानीयको सूचना लगत्तै नेपाली सेनाको टोलीले डिस्पिोज गरेको थियो।
यस्तै, असार १ गते व्यवसायी भैरवप्रसाद कलवारको सिद्धार्थनगर– ४ स्थित दाना फ्याक्ट्री गोदामको पर्खालबाहिर पनि प्रेसर कुकर बम विस्फोट गराएका थिए। फिरौती माग गर्ने, तर्साउने उद्देश्यले सिटी हस्पिटल भैरहवानजिकै सडकमा समेत बम विस्फिोट गराएको र यी सबै घटनामा तीनैजनाको संलग्नता रहेको तथ्य फेला पारेको प्रहरीको भनाइ छ। उनीहरूबाट दुई थान मोटरसाइकल र पाँच थान मोबाइल प्रहरीले बरामद गरेको जनाएको छ। रुपन्देहीमा सिरियल रूपमा बम भेटिने तथा चोरी बढ्दै जान थालेपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी उमेशकुमार जोशी आफैँले सक्रियता बढाएका थिए।