विराटनगर, २० असार । इटहरीको मुख्य चोकमा मङ्गलवार दिउँसो टिपरले स्कुटरलाई ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा इटहरी- ८ की ३९ वर्षीया सरिता चौधरी र उनकी २० वर्षीया छोरी अंशु चौधरीको रहेको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ क ९१०७ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई इटहरी चोकमा ठक्कर दिँदा आमा सरिताको घटनास्थलमै मृत्यु भएको थियो । छोरी अंशुको उपचारका क्रममा विराट मेडिकल कलेज विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि आक्रोशित आफन्त र स्थानीयवासीले ढुंगामुढा गरेका कारण इटहरी चौक साँझसम्मै तनावग्रस्त रह्यो । घटनामा इलाका प्रहरी कार्यालयका डीएसपीसहित ९ जना घाइते भएका छन् भने सशस्त्र प्रहरी बलका ७ जना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन ३४ सेल अश्रुग्याँस प्रहार गरेको थियो । टिपर चालक सर्लाहीको हरिबन बस्ने बलबहादुर बमजनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।