मेचीनगर, साउन ३ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) द्वारा सञ्चालित डेरी उद्योगबाट निस्किने फोहोर पानीले दुईवटा टोललाई नै दुर्घन्धीत बनाएको छ । मेचीनगर–७ स्थित डेरी उद्योगबाट निस्किने केमिकल सहितको सेतो फोहोर पानीले ईच्छा टोल विकास र जोरसिमल टोल विकास समितिका करिव एकसय घर परिवार पीडित बनेका हुन् ।
वडा नम्बर ७ का मेलमिलाप समितिका सदस्य एवम् जोरसिमल टोलका स्थानीय नरपति काफ्लेले डेरीबाट निस्किएको फोहोर मुख्य राजमार्गको छेउको कल्पट मुनीको पैनीमा सिधै पाइप लगाएर खसाल्ने गरेको बताए । उनका अनुसार सो पैनीमा खसालेको फोहोर पानी दक्षिणतिर बग्ने गरेको छ । दक्षिणतिर बगेको फोहोर पानी गाउँमा गएर मिसिने गरेको छ ।
फोहोर पानीको व्यवस्थापनका लागि पटक–पटक नगरपालिका धाउँदापनि सुनुवाई नभएको काफ्लेको भनाई छ । न्यायिक समितिमा दुवै पक्ष बसेर छलफल गरेर निर्णयमा पुग्दा पनि डेरीले कार्यान्वयन नगरेको उनको आरोप छ । न्यायिक समितिले पैनीमा औषधि छिट्ने, दिर्घकालिन समाधान लगायतको व्यवस्थापन गर्न डेरीलाई सुझाव दिइएको थियो । तर, सो निर्णय कार्यान्वयन नभएकोमा स्थानीय टोलबासीहरु चिन्तित बनेका छन् ।
पैनी छेउ घर भएकी स्थानीय मुना खड्काले भनिन् ‘डेरी उद्योग नहुँदा हामीलाई समस्या थिएन । डेरी आएपछि घरमा सबै विरामी हुन थाले । सधै पैनीमा फोहोर आउन थालेपछि गन्हाएर घरमा बसीसक्नु छैन । मौरीको गोला जस्तै मछेड घरभरी आउँछ । मछेडले टोकेर ७ वर्षको छोरा विरामी परेको छ । केमिकल जस्तो गन्ध धेरै आउने गर्छ ।’
‘रातदिन पीडा बोकेर बाँचिरहेका छौँ’, स्थानीय बमबहादुर खड्काले भने ‘हामीले डेरी उद्योग र नगरपालिका धेरै पटक धाईम तर, अहिलेसम्म सुनवाई भएको छैन । वर्खामा अलिक कम गन्हाउँछ । तर मछेडले छाडेको छैन । चैत र वैशाख तथा गर्मीको समयमा गन्हाएर घरमा बस्न सकिदैन ।’ एनएमसीका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवम् डेरी उद्योग समितिका संयोजक नारायण कोइरालाले ट्रिटमेन्ट प्लान्ट बिग्रेका कारण फोहोर पानी व्यवस्थापनमा समस्या भएको बताए ।
मेचीनगर–८ का वडा सदस्य एवम् न्यायिक समितिका सदस्य कुन्दन निरौलाले दुई महिनाअघि दुवै पक्षलाई राखेर यस विषयमा न्यायिक समितिमा छलफल भएको बताए । समितिले डेरीलाई ७ दिनभित्र फोहोर पानी व्यवस्थापन गर्न निर्देशन दिएको उनले बताए । ‘गाउँले र डेरी उद्योगबीच चित्त बुझ्दो सहमति गर्नुपर्छ’, डेरीका कार्यालय प्रमुख नवराज अधिकारीले भने ‘यसको दिगो समाधानमा लाग्नु पर्छ ।’ मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले डेरी उद्योगले गाउँ नै दुर्घन्धीत हुने गरी पैनीको पानीमा फोहोर फाल्नु गैर कानुनी काम भएको बताए । फोहोरलाई सम्बन्धीत पक्षले नै व्यवस्थापन गर्नुपर्छ ।’ उनले दुवै पक्षलाई बोलाएर छलफलबाट समस्याको समाधान खोजिने बताए ।