News Portal

भन्सारका कर्मचारीमाथि उठ्नसक्छ प्रश्न, एअरपोर्टबाट कसरी उम्कियो सुन ?

रातोपोस्ट संवाददाता
१४७ पटक

काठमाडौं, ४ साउन । मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ ल्याइएको भनेर स्टिकर टाँसिएको थियो । एअरपोर्टबाट एक सय ५४ केजीको मोटरसाइकलको ‘ब्रेक सु’ भनिएको त्यो लगेज सहजै बाहिर निक्लियो ।

त्यसलाई पछ्यायो राजस्व अनुसन्धान विभागको टोलीले । अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पु¥याइएको त्यो लगेज ट्याक्सीमा हाल्दाहाल्दै बरामद गरियो । अनि अनुसन्धान गर्दै हेरियो र भेटियो ठूलो मात्रामा सुन । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए । विभागले मंगलबार नै सुन बरामद गरेको भए पनि योबारे बाहिर सार्वजनिक भने बुधबार साँझ मात्रै भयो ।

किन सार्वजनिक भएर बरामद भएलगत्तै भन्नेबारे यहाँ अनेक प्रश्न उठ्न सक्छ । तर सुन बरामद भएपछि अनुसन्धानमा खटिएका अधिकारीहरु भने बरामद गरिएको वस्तु सुन हो या हैन भन्नेबारे आफूले प्रमाणित गर्न नसक्नुको कारण बताउँछन् । ‘टेस्ट नगरी भन्न सकिने अवस्था थिएन त्यसैले सुन भएको पुष्टि भएपछि मात्रै सार्वजनिक गरिनुपर्ने अवस्था थियो,’ उनी भन्छन्, ‘यो ठूलो परिमाण थियो, यसमा संलग्न धेरै हुने आशंका थियो त्यसैले पनि यसमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन केही समय बाहिर नल्याउनुपर्ने अवस्था सिर्जना भएको हो ।’

विभागले सुन बरामद गर्दा नै ट्याक्सीबाट तीन जनालाई पक्राउ गरेको थियो । उनीहरुसँगको सोधपुछका क्रममा थप तीनको नाम पोलेपछि उनीहरु पनि अहिले भने पक्राउ परेका छन् । सो बरामद बस्तु अहिले भने सुन नै भएको पुष्टि भएको विभागका महानिर्देशक ढुंगानाले बताएका छन् । परिमाण कति हो भन्नेबारे आज सार्वजनिक गरिने विभागको तयारी छ । स्रोतअनुसार अहिले भन्सारले उति साह्रो जाँच गर्ने गरेको छैन । त्यहाँ प्रहरी पनि छैनन् । विमानस्थल भन्सारमा प्रहरी राख्न कार्यालयले पनि आनाकानी गरिरहेको स्रोत बताउँछ ।

विमानस्थल भन्सारबाट जाँचपास गरेर सामान बाहिरिन त्यति सहज छैन । ‘तर, यो बरामद सुन भन्सार कार्यालयले निर्वाध पास गरिदिएको देखिन्छ,’ विभागका अधिकारी भन्छन्, ‘८ वटा कार्टुन बक्समा मोटरसाइकलको ब्रेक सु भनेर आएपछि भन्सारले केही शंका गर्नुपर्ने ठाउँ छ, तर गरेको देखिँदैन ।’ उक्त बरामद सुनलाई भन्सार कार्यालयले एक सय ६० वटा ‘ब्रेक सु’ भनेर जाँचपास गरेको छ ।

यो सुन तस्करीमा भन्सार कार्यालयका कर्मचारीकोसमेत मिलेमतो हुनसक्ने अनुसन्धानमा खटिएका अधिकारीहरु दाबी गर्छन् । सामान पास गर्नुअघि स्क्यानरको प्रयोग गरिन्छ । ‘स्क्यानरलेसमेत पत्ता नलगाएकोबारे सेटिङ भएको हुनसक्छ, त्यसबारे अनुसन्धान हुँदै छ ।’ विभागबाट अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले केही दिनअघि देखि नै सुन आउने सुराकी पाएकाले निगरानी बढाएको दाबी गरे । ‘हामीले निकै सतर्कतापूर्वक काम गरिरहेका थियौं, सफल भयौं ।’ उनले भने ।बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’का नाममा विमानस्थल भन्सारले जाँचपास गरेको थियो । सो सामान शंकास्पद रहेको सूचना विभागलाई आएके थियो । सूचनालगत्तै विभागको टोली विमानस्थल पुगेको ढुंगाना बताउँछन् । तर, ती कार्टुन जाँचपास भएर बाहिरिइसकेको थियो । पीछा गरेर सामान बरामद गरिएको हो ।

प्रतिकृया दिनुहोस्