मेचीनगर, साउन ६ । सशस्त्र प्रहरीले झापाको उत्तरी मेचीनगरबाट गएराती ठुलो मात्रा साल (सखुवा) जातको गोलिया बरामद गर्यो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वमा गएको टोलीले मेचीनगर १ कृष्णथुम्की मन्दिर आसपासको मध्यराती १२ बजेको समयमा अन्दाजी सात सय क्युफिट गोलिया काठ बरामद गरेको हो ।
‘काठ तस्करी भइरहेको’ भन्ने विशेष सूचना पाएर उक्त स्थानमा पुगेको टोलीले यति ठुलो मात्रामा गोलिया बरामद गर्न सफल भएको हो । ‘हामी त्यहाँ पुग्दा साँढे ११ भएको थियो, तस्करहरुले हामी आउने सूचना पाएर होला गोलिया ट्याक्टरमा हालेर भगाइसकेका रहेछन्,’ सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले भने ‘हामीले ट्याक्टर भगाउँदै गरेको देखेको हुनाले पछि गर्दै गइयो, करिब ५ सय मिटर खेदाइसकेपछि गोलियाको थुप्रो थुप्रो भेट्यौँ ।’
सुरुमा ५ सय क्युफिट गोलिया मात्रै भेटेको सशस्त्रले ट्याक्टरको पछि गर्दै जाँदा दुई वटा ट्याक्टर फेला पारेको थियो । उक्त स्थानमा पुन खोजतलास गर्ने क्रममा अन्य जातका २ सय क्युफिट काठ र करिब एक ट्रक लाथ्रा फेला पारेको थियो । एसपी अर्यालका अनुसार रातीको समय साथै बाटो असहज भएकाले ट्याक्टरलाई खेदाउन अत्यन्तै अप्ठ्यारो भएको थियो । यद्यपी ठुलो मात्रामा गोलिया नियन्त्रणमा लिन सशस्त्र प्रहरी सफल भयो । सशस्त्र नपुगेको भए तस्कर समूहले सबै काठ लगिसक्ने थियो ।
‘अहिलेसम्म यस्तो काठ तस्करी देखेकै थिइन,’ एसपी अर्यालले भने, ‘कृष्णथुम्की मन्दिर पछाडिबाट काठ काटेको देखिन्छ, तस्कर समूहले साना–ठुला सबै रुख काटिसकेको रहेछ ।’ ‘एकै रातमा त्यहाँ घाटगद्दी गरी राखिएको गोलिया काठ गन्तव्यतर्फ पु¥याउने तस्कर समूहको योजना थियो, उनीहरूको त्यो योजना सफल हुन पाएन,’ उनले भने । घटनास्थलबाट काठ चोरी तस्करी गर्ने व्यक्ति फेला नपरेपनि नियन्त्रणमा लिएको दुई वटा ट्याक्टर र काठ गरी करिब ४० लाख रुपैयाँ मूल्याङ्कन तोकेर जिल्ला डिभिजन वन कार्यालय झापा बुझाइसकेको उनले बताए ।
सशस्त्रले बरामद गरेको उक्त गोलिया यस क्षेत्रबाट अन्य समयमा पनि तस्करी गर्ने समुहको हुन सक्ने स्रोतले बताएको छ । ‘अरु बेला पनि यस क्षेत्रबाट सखुवाको तस्करी हुने गरेको थियो, बरामद भएको यस गोलिया पनि सोही समुहको हुन सक्छ,’ स्रोतले भनेको छ । यसअघि पनि उत्तरी मेचीनगरका विभिन्न क्षेत्रबाट साल जातका गोलियाको तस्करी हुने गरेको स्थानीयले बताउँदै आएका थिए । सशस्त्रले यति ठुलो मात्रामा बरामद गरेपछि भने उक्त रहस्य बाहिरिएको छ ।