News Portal

कन्टेनर प्रकरणः राजश्व विभाग भन्छ ‘अनुसन्धान सकिन ६ महिना लाग्न सक्छ’

नवराज सुवेदी
१४९९ पटक

मेचीनगर, २३ साउन । मेची भन्सार भित्रैबाट बाहिरिएको कन्टेनरमा राजश्व छलीको सामान भेटिएको विषयको अनुसन्धान सकिन अझै ५–६ महिना लाग्ने राजश्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयले धरौटी वापतको रकम लिएर कन्टेनर र राजश्व तिरेको सामान छाडिसकेको जनाउँदै कार्यालयका प्रमुख सुरेश आचार्यले थप अनुसन्धान भने जारी रहेको र अनुसन्धानको पूर्ण निश्कर्षमा पुग्न अझै ५–६ महिना लाग्न सक्ने बताए ।

‘धरौटी रकम लिएर कन्टेनर र राजश्व तिरेको सामान छाडिसकिएको छ, थप अनुसन्धान जारी छ,’ उनी भन्छन् ‘अनुसन्धानको पूर्ण निश्कर्ष आएसँगै हामी जानकारी दिन्छौँ ।’

मेची भन्सार भित्रैबाट बाहिरिएको उक्त कन्टेनरमा भन्सार पज्ञापन पत्रमा भएभन्दा फरक तथा तोकिएभन्दा बढी सामान भेटिएको यसअघि नै प्रमाणित भएको थियो । जुन सामानलाई जफत गरी धरौटी रकम बापत ४८ लाख ४१ हजार ५४ रुपैँया रकम कार्यालयले लिइसकेको छ ।

पछिल्लो समयको अनुसन्धान भने उक्त घट्नामा संलग्न कर्मचारी तर्फ सोझिएको छ । गत साउन १२ गते बेलुका मेची भन्सारबाटै बाहिरिएको कन्टेनर भन्सार छलीको आशंकासहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कन्टेनर चेकजाँच गर्दा उक्त कन्टेनरबाट प्रहरीले १ करोडभन्दा बढीको सामान फेला पार्यो र अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझायो । राजश्व अनुसन्धान कार्यालयले भने विभिन्न कोणबाट छानविन गरी राजश्व छलीको सामान भेटिएको सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहोस्