News Portal

शिवसताक्षीमा दुई वटा बस ठोक्किँदा १२ जना यात्रु घाइते

रातोपोस्ट संवाददाता
१६६ पटक

झापा, २८ असार । झापाको शिवसताक्षी- ८ स्थित डुडामारीमा दुईवटा बस ठोक्किँदा १२ जना यात्रु घाइते भएका छन्।

घाइते हुनेहरूमा झापा जिल्ला गौरादह नगरपालिका-१ का ४० वर्षीया सीता राजवंशी, गौरादह-३ का ३५ वर्षीया सुनिता कँडेल, गौरादह-१ का ३५ वर्षीय प्रियङ्का चौधरी, शिवसताक्षी नगरपालिका-१ का ८३ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, शिवसताक्षी-७ का २० वर्षीया सेनुम खजुम, शिवसताक्षी-८ का २७ वर्षीया रञ्जना थेगिम, कनकाई नगरपालिका -३ का २१ वर्षीया अञ्जली कार्की, कनकाई-३ का १७ वर्षीय नुमा लिम्बु, कनकाई-४ का २१ वर्षीया अबिसा कार्की, कनकाई-५ का ४० वर्षीया सरिता थोलुङ, इलाम फिक्कल-११ का ३६ वर्षीय फुर्वा मोक्तान, मोरङ सुन्दरहरैचा-३ का ६२ वर्षीया रिता कार्की रहेका छन्।

घाइतेहरूको अनुहार, टाउको, खुट्टा, हातमा चोट लागेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिका-८ स्थित डुडामारीमा आइतबार बिहान ११:२५ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-१-०१-००१ ख ३४२२ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको प्र-१-०२-००१ ख ९२६२ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो।

प्र-१-०१-००१ ख ३४२२ नम्बरको बस यात्रु ओसार्न बस स्टेसनमा रोकी राखेको अवस्थामा प्र-१-०२-००१ ख ९२६२ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उनीहरूलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको र अवस्था सामान्य रहेको डीएसपी रिजालले बताए । यता इलाका प्रहरी कार्यालय झिलझिलेले दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ। प्र १-०१-००१ ख ३४२२ नम्बरको बस चालक मेचीनगर-७ का २८ वर्षीय सरोज उराउ र प्र-१-०२-००१ ख ९२६२ नम्बरको बस चालक मोरङ उर्लाबारी-६ का ३० वर्षीय रामेश्वर धामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्