मेचीनगर । कोरोना महामारीपछिको उत्कर्षको महामारीको रुपमा यतिबेला डेंगु रोगले मुलुकलाई नै आक्रान्त बनाइरहेको छ । हाल धरान लगायत मुलुकका विभिन्न स्थानमा गम्भीर रुपमा देखिइरहेको डेंगु रोगबाट पूर्वी सिमावर्ती नगरपालिका झापाको मेचीनगर नगरपालिका पनि उत्तिकै जोखिममा छ ।
मेचीनगरमा हालसम्म ३४ जना त डेंगुका बिरामी नै देखिइसकेका छन् भने संक्रमण देखिने क्रम अझैपनि बढ्दो छ । हालसम्म देखिएका डेंगुका संक्रमितमध्ये आधा त मेचीनगर ६ काँकरभिट्टाका मात्रै छन् । सहरी क्षेत्रमा तिव्र रुपमा संक्रमण देखिइरहेको वर्तमान अवस्थामा सिमावर्ती सहर काँकरभिट्टामा मात्रै आधा संक्रमित भेटिएका हुन् ।
मेचीनगर नगरपालिका डेंगु रोगको अत्यन्तै जोखिममा रहेको स्वयम चिकित्सकहरु नै बताउँछन् । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा डेंगु लामखुट्टेका कारण चाँडै फैलने रोग भएकाले मेचीनगर पनि अत्यन्तै जोखिममा रहेको बताउँछिन् ।
‘नगरपालिकाको स्वास्थ्य शाखासँगै सबै सरोकारवाला निकाय सचेतना अभियानमा जुटेका छन्, टोल विकास संस्था, वडाका जनप्रतिनिधिसँगै स्वास्थ्य स्वयमसेविकाहरु पनि डेंगुबाट बच्न सचेतना अभियानमा हुनुहुन्छ,’ उनी भन्छिन् ‘यद्यपी महामारीकै रुपमा फैलने यस रोग नगरका ३४ जनालाई देखिइसकेकाले जोखिम एकदमै छ ।’
उनका अनुसार नगरभर ४ स्थानमा निशुल्क डेंगु परिक्षणको व्यवस्था मिलाइएको छ । काँकरभिट्टा, धुलाबारी, ज्यामिरगढी र बाहुण्डाँगीमा निशुल्क डेंगु परिक्षणको व्यवस्था मिलाइएको उनको भनाई छ । भारतसँग सिधा सिमाना जोडिएको यस नगरपालिका अन्य पनि विविध कारणले डेंगुको जोखिममा छ । सहरी क्षेत्रसँगै राजमार्गका विभिन्न स्थानमा टायरको थुप्रो, अलपत्र सार्वजनिक भवनहरु धेरै रहेकाले पनि नगर डेंगुको जोखिममा रहेको उनी बताउँछिन् ।
यत्रो जोखिममा रहेको नगरपालिकालाई भैपरी आउने महामारीबाट बचाउन स्वास्थ्य शाखाको तयारी चाहिँ कस्तो छ त ? भन्ने प्रश्नमा उनी भन्छिन् ‘भैपरी आउने महामारीका लागि हामी सँधै ‘अलर्ट’ छौँ, अहिलेपनि नगरका विभिन्न स्थानमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान संचालन गरिरहेका छौँ,’ उनी भन्छिन् ‘नगरका सबै स्वास्थ्य संस्थाबाट आवश्यक औषधीहरु जीवनजल, पारासिटामल लगायत निशुल्क रुपमा वितरणको व्यवस्था मिलाएका छौँ । नगर मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यारत स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम दिइरहेका छौँ भने नागरिकसँग प्रत्यक्ष जोडिएको टोल विकास संस्थाहरुसँग पनि निरन्तर समन्वयमा छौँ ।’
१५ वटा वडा रहेको यस नगर अधिकांश भू–भाग ग्रामिण भेग छ भने काँकरभिट्टा, धुलाबारी लगायतका सहर पनि छन् । यस्ता सहरहरुलाई केन्द्रमा राखेर समुदाय स्तरमा ‘लार्भा खोज र नष्ट गर’ अभियान संचालन गरिएको उनको भनाई छ । डेंगु परिक्षणका लागि नगरले निशुल्क व्यवस्था मिलाएको भएपनि अधिकांश नागरिकहरु भने परिक्षणका लागि निजी स्वास्थ्य संस्थामा जाने गरेको उनी बताउँछिन् ।
प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयले डेंगु परिक्षण गरेबापत ६ सय रुपैँया भन्दा धेरै शुल्क नलिनु भनेको भएपनि यहाँ ८ सय देखि एक हजारसम्म शुल्क लिने गरेको गुनासो आएको उनको भनाई छ । एक लाख ३३ हजार जनसंख्या रहेको मेचीनगरमा ३४ जनामा मात्रै डेंगु देखिएको भन्दै सामान्य मानेर बस्ने अवस्था नभएको भन्दै उनी भन्छिन् ‘संक्रमण कतिबेला उत्कर्षमा पुग्न सक्छ ? थाहा हुन्न । हामी पूर्ण रुपमा तयारीमा छौँ, नगरपालिकाले पनि उल्लेख्य साथ दिएको छ ।’
नगरमा कोही व्यक्तिमा डेंगु संक्रमण देखिएमा शुरुमा नगर मातहतको स्वास्थ्य संस्थामा उपचार गरिन्छ भने अवस्था गम्भीर बनेपछि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइन्छ । डेंगु संक्रमण पुष्टि भएमा नियमित चिकित्सकको सल्लाहमा रही जीवनजल, पारासिटामल लगायतका औषधी प्रयोग गरेर झोलिलो पदार्थ खान उनी सुझाव दिन्छिन् ।