News Portal

बाहुण्डाँगी जेसीजको जेसीज सप्ताहमा आठ कार्यक्रम

रातोपोस्ट संवाददाता
२८९ पटक

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले जेसीज सप्ताहको अवसरमा अन्तर मावि नृत्य प्रतियोगितादेखि विभिन्न प्रकारका तालिमको आयोजना गर्ने भएको छ । जेसीजले सप्ताहको अवसरमा भदौ २० गतेदेखि २६ गतेसम्म आठ वटा कार्यक्रमको आयोजना गर्ने शनिबार प्रेस क्लब मेचीनगरको कार्यालय इटाभट्टामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो ।

जसअनुरुप पहिलो कार्यक्रम अन्तर्गत कृष्ण जन्माष्टमी समेतको अवसरमा जेसीज सप्ताहको उद्घाटनसँगै मेचीनगर–१ कृष्णथुम्की मन्दिरमा लाग्ने मेलामा पानी वितरण गर्ने उल्लेख छ । यसैगरी दोस्रो कार्यक्रम अन्तर्गत मेचीनगर ४ मा अवस्थित दिपेन्द्र प्रा.वि.मा शैक्षिक सामाग्री वितरण गरिनेछ ।

तेस्रो कार्यक्रम अन्तर्गत भदौ २१ गते आयोजक बाहुण्डाँगी जेसीज, धुलाबारी जेसीज, मेची उद्योग वाणिज्य संघ र प्रेस क्लब मेचीनगरबिच मैत्रीपुर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको सप्ताह कार्यक्रमका मुल कार्यक्रम संयोजक सामुल रायले जानकारी दिए । उक्त फुटसल प्रतियोगिता एरिना फुटसल धुलाबारीमा आयोजना हुनेछ ।

यसैगरी चौथो कार्यक्रम अन्तर्गत भदौ २३ गते मेचीनगर स्तरीय अन्तर मावि लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिएको छ । सामुदायिक हल बाहुण्डाँगीमा आयोजना हुने यस नृत्य प्रतियोगितामा नगरभरीका २२ वटा विद्यालयलाई सहभागिताका लागि पत्र पठाइसकिएको छ भने १६ वटा विद्यालय प्रतियोगितामा सहभागि हुने निश्चित भइसकेको छ ।

यद्यपी नृत्य प्रतियोगितामा नगरभरका २० वटा विद्यालयको सहभागिता रहने यस नृत्य प्रतियोगिताका कार्यक्रम संयोजक समेत रहेका जेसी देबु बानियाँले बताए । उनका अनुसार नृत्य प्रतियोगिता निष्पक्ष बनाउनका लागि भारत, काठमाण्डौँ तथा झापाबाट निर्णायक ल्याइनेछ ।

यसैगरी सप्ताह कार्यक्रम अन्तर्गत नै भदौ २५ गते ३ वटा तालिमको आयोजना गरिएको छ । मेचीनगर–२ नं वडा कार्यालय समेतको सहयोगमा पब्लिक स्पिकिङ र महिला नेतृत्व विकास तालिमको आयोजना गरिएको छ भने सोही दिन अरिदमन गण चारआली अन्तर्गत रहेको सर्पदंश उपचार केन्द्रको सहकार्यमा सर्पदंश उपचार सम्बन्धी तालिमको आयोजना गरिएको छ ।

सप्ताहको अन्तिम कार्यक्रम अन्तर्गत भदौ २६ गते स्थापना दिवस, पुरस्कार वितरणसँगै समापन समारोह राखिएको छ । हात्ती रिसोर्टमा आयोजना हुने यस कार्यक्रममा साविक बाहुण्डाँगी क्षेत्रबाट छानिएकी एक उत्कृष्ट महिलालाई उत्कृष्ट महिला पुरस्कार प्रदान गरिनेछ भने एसईईमा उत्कृष्ट नतिजा ल्याउने दुई जना विद्यार्थीलाई सम्मानसँगै बाहुण्डाँगी जेसीजबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तित्वलाई सम्मान गरिने महासचिव नित्यानन्द चम्लागाइँले जानकारी दिए ।

युवाहरुको प्रतिभा, क्षमतालाई विकास गर्दै सामाजिक नेतृत्व गर्न सिकाउने अग्रणी संस्था बाहुण्डाँगी जेसीज सामाजिक कार्यमा सधैँ क्रियाशिल स्थानमा छ । जेसीज सप्ताहको अवसरमा यी विविध कार्यक्रमहरुको आयोजना गरिएको बाहुण्डाँगी जेसीज बर्ष २०२३ का अध्यक्ष जेसी केवल निरौलाले बताए । पत्रकार सम्मेलनमा बाहुण्डाँगी जेसीजका पूर्वअध्यक्ष समेत रहेका मेचीनगर-२ का वडाध्यक्ष दिपक बराल, सप्ताहका विभिन्न कार्यक्रमका संयोजकहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्