मेचीनगर, २६ भदौ । केही दिन अघि मेचीनगर क्षेत्रका केही अनलाइन संचामाध्यमले एउटा समाचारलाई महत्वका साथ प्रकाशन, प्रशारण गरे । जसको आशय थियो ‘मेचीनगरमा डेंगु परिक्षणका लागि निःशुल्क किटको व्यवस्था गरिएको छ ।’
त्यसअघि रातोपोस्ट अनलाइनले ‘मेचीनगरमा डेंगु परिक्षण गर्ने किटमा जालझेल भयो, सर्वसाधारण महँगो शूल्क तिरेर परिक्षण गराउन वाध्य छन् ।’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । यी दुई समाचार पढेपछि नगरवासी अन्यौलमा परेका थिए, वास्तविकता चाहीँ के हो भनेर ।
पुन: आइतबार मात्रै मेचीनगर नगरपालिकाका नगरम्रमुख गोपालचन्द्र बुढाथोकीको निजी सचिवालयलाई उदृत गर्दै ‘मेचीनगरका मेयर बुढाथोकीलाई डेंगु संक्रमण’ भन्ने समाचार सार्वजनिक भयो । रोचक कुरा के भने नगरपालिकाले डेंगु परिक्षणका लागि निःशुल्क किटको व्यवस्था गरेको दाबी गर्ने नगरका मेयरको डेंगु परीक्षण भने निजी क्लिनिकमा गरिएको थियो ।
जुन परिक्षणको तथ्यसहित नगरप्रमुखकै सचिवालयले सार्वजनिक गरेको छ । अर्थात नगरप्रमुखको डेंगु परिक्षण नगरपालिका मातहतका कुनै स्वास्थ्य संस्थामा नभएर धुलाबारीको एउटा निजी क्लिनिकमा गरिएको थियो । नगरपालिकाको स्वास्थ्य शाखाले नगरमा डेंगु परिक्षणको व्यवस्था निःशुल्क भनिरहँदा नगरप्रमुखकै डेंगु परिक्षण भने निजी क्लिनिमा हुँदा नगरवासी पनि छक्क परेका छन् ।
मेयरलाई डेंगु संक्रमण पछि अचानक माइकिङ गरेर विषादी छिट्ने तयारी भइरहेको पनि जनाइएको छ । ‘सर्वसाधारण महंगो शूल्क तिरेर डेंगु परीक्षण गर्न वाध्य छन्,’ एक स्थानीय शंकर सापकोटाले आक्रोश पोखे, ‘जनतालाई निःशुल्क रुपमा डेंगु परिक्षणको व्यवस्था पनि मिलाउन नसक्नु हाम्रा जनप्रतिनिधिहरुको नालायकीपन हो ।’