News Portal

सिक्किममा बाढीमा बगेर २३ सैनिक बेपत्ता

रातोपोस्ट संवाददाता
२३१ पटक

काठमाडौं, १७ असोज । भारतको सिक्किमस्थित टिस्टा नदीको बाढीले बगाउँदा भारतीय सेनाका कम्तीमा २३ जना जवानलाई बगाएको छ। सिक्किममा भारी वर्षापछि आएको बाढीमा परेर २३ जना भारतीय सेनाका जवान बुधबार बेपत्ता भएका हुन्।

भारतीय रक्षा मन्त्रालयका अनुसार ल्होनक तालमाथि मंगलबार मध्यराति भीषण वर्षा भएको थियो। त्यहीकारण लाचेन उपत्यकास्थित टिस्टा नदीमा अचानक बाढी आएको हो। नदीसँगै जोडिएको क्षेत्रमा भारतीय सेनाको क्याम्प थियो। जो बाढीको चपेटमा परेर बगेको हो।

गुवाहाटीस्थित भारतीय सेनाको कमान्डका अनुसार अचानक पानी बढेपछि चुङ्गथाङ्ग बाँध खोल्नु परेको थियो। त्यसपछि तल्लो तटीय क्षेत्र पनि डुबानमा परेको छ। बाढीका कारण सिन्गताम नजिकै बारदाङ्गमा राखिएका सेनाका ४१ वटा गाडी पनि बगेका छन्।

सेनाका अनुसार अचानकको भीषण वर्षका कारण टिस्टा नदीको जलस्तर १५ देखि २० फिटसम्म बढेको छ। त्यसपछि नदीसँग जोडिएको क्षेत्रमा पानी भरिएको छ। कयौँ घरमा बाढीको पानी पसेको छ। मानिसहरुलाई ती घरबाट उच्च स्थानमा निकालिएको छ। गुवाहाटीस्थित भारतीय सेनाको कमान्डका अनुसार घटनापछि बेपत्ता सेनाको खोजीका लागि उद्धार अपरेशन थालिएको छ। स्थानीय प्रशासन पनि अहिले उद्धारमा जुटेको छ।

प्रतिकृया दिनुहोस्