News Portal

सार्वजनिक क्षेत्रमा निर्बाध छ सुर्तीजन्य पदार्थको बिक्री वितरण, अबिलम्ब रोकियोस्– उपभोक्ता जागरण अभियान

नवराज सुवेदी
४६६ पटक

मेचीनगर, २२ असोज । सार्वजनिक स्थलको एक सय मिटर भित्रको कुनैपनि स्थानबाट सुर्तिजन्य पदार्थ बिक्री वितरणमा अविलम्ब रोक लगाउन उपभोक्ता जागरण अभियान नेपाल मेचीनगर नगर समितिले जोडदार माग गरेको छ ।

आज (सोमबार) मेचीनगर नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै अभियानले उक्त माग गरेको हो । अभियानले हालै मेचीनगर क्षेत्रका केहि विद्यालय, नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुको अनुगमन गरेको थियो । उक्त क्रममा सार्वजनिक स्थलको एक सय मिटरको वरपर नै निर्वाध रुपमा सुर्तीजन्य पदार्थको बिक्री वितरण भइरहेको तथ्य फेला पर्यो ।

यस पश्चात यी सम्पूर्ण तथ्य जानकारी गराउँदै अभियानले यस्ता बिक्री वितरणलाई तत्कालै रोक्न नगरपालिका समक्ष माग गरेको हो । ‘मेचीनगरका विद्यालय, क्याम्पस, अस्पताल, स्वास्थ्योपचार केन्द्र, धार्मिक तथा पर्यटकीय स्थल, नगरपालिकाको मुख्य प्रशासनिक कार्यालय, वडा कार्यालय लगायतका सार्वजनिक स्थलबाट एक सय मिटर भित्रको घर तथा पसलबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा अबिलम्ब रोक लगाइयोस्’, अभियानले नगरपालिका समक्ष बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

यसैगरी, सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक्नका लागि नगरपालिकाले नीति, नियम, कार्यविधि नै बनाएर अघि बढ्न पनि अभियानले सुझाव दिएको छ । सँगै नगर क्षेत्रका विद्यालयमा कस्ता प्रकारका खाजाको व्यवस्था गरिएको छ ? यसको अनुगमन नियमित हुँदैछ ? भनेर पनि अभियानले प्रश्न उठाएको छ ।

‘विद्यार्थीको खाजाको गुणस्तर र वितरण व्यवस्थापन बारेमा नगरपालिकाको शिक्षा शाखाबाट नियमित अनुगमन गरियोस्’, अभियानले भनेको छ ।

प्रतिकृया दिनुहोस्