News Portal

मागुरमाडी पर्यटकीय सिमसार चिटिक्क पारियो

रातोपोस्ट संवाददाता
२२९ पटक

धुलाबारी, २२ असोज । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ मेचीनगर-९ द्वारा सञ्चालित ‘मागुरमाडी सिमसार तथा पर्यटकीय क्षेत्र’को सरसफाई गरी चिटिक्क पारिएको छ ।उपभोक्ताको सक्रियतामा सोमबार सिमसार परिसरमा बढ्दै गएको झाडी सरसफाई गरिएको हो । सिमसार क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न सरसफाई गरिएको वन समूहका अध्यक्ष अमर लिम्बूले बताए ।

उपभोक्ताले एकैसाथ सिमसार क्षेत्र सफाइ गरेका हुन् । मागुरमाडी सिमसार भौतिक संरचना निर्माणसँगै सञ्चालनमा आइसकेको छ । यद्यपि बजेट अभावका कारण पूणर्रुपमा संरचनाहरु निर्माण हुन सकेको छैन । पाँच हेक्टर जमिनमा फैलिएको उक्त सिमसारमा दुईवटा पोखरी, वाटर फाउन्टेन, बाटोसहितको आकर्षक गार्डेन, फिसिङ डेस्क तथा पिकनिक स्पट निर्माण गरिएको छ । अन्य सामुदायिक वन समूहले निर्माण गरेका सिमसार क्षेत्रभन्दा यो अलिक फरक प्रकृतिको रहेको छ । सिमसार क्षेत्रमा क्रंक्रिट सामाग्रीको कम प्रयोग गरिएको र दुबो, चपरी तथा काठका सामाग्री बढी प्रयोग गरी निर्माण गरिएको छ ।

मुख्य राजमार्गबाट करिब ४ किलोमिटर उत्तरमा पर्ने उक्त मागुरमाडी सिमसार बाँसवारी पर्यटकीय क्षेत्रको उत्तरतर्फ पर्दछ । मागुरमाडी सिमसार क्षेत्र पर्यटकका लागि लोपोन्मुख किसान जातिको कला, संस्कृति अध्ययनको विषय समेत बन्ने वन समूहकी सचिव कमला गौतमले बताइन् । किसान जातिको बसोबास सबैभन्दा बढी मागुरमाडी क्षेत्रमै पर्छ ।

प्रतिकृया दिनुहोस्