News Portal

झापामा घुस लिएको आरोपमा भूमि आयोगका कर्मचारी पक्राउ

रातोपोस्ट संवाददाता
२९७ पटक

झापा, २३ असाेज । झापाको हल्दिबारीमा खटाइएका राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारीले सेवाग्राहीसँग घुस लिएको घटना सार्वजनिक भएको छ।

कर्मचारीहरुले साबिक गोलधाप हाल हल्दिबारी गाउँपालिका– १ स्थित रामचोक निवासी ५१ वर्षीय गणेशप्रसाद पौडेलसँग ४० हजार रुपैयाँ घुस लिएका हुन्।
सेवाग्राही पौडेलसँग घुस लिएको घटना बाहिरिएसँगै जनप्रतिनिधि र स्थानीयवासीले उनीहरूलाई नियन्त्रण लिइ प्रहरी बोलाएर जिम्मा लगाएका थिए।

प्रहरी नियन्त्रणमा रहेका कर्मचारीहरु जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोशी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल छन्। भूमि आयोगले उनीहरूलाई चार महिनादेखि हल्दिबारी गाउँपालिकामा खटाएका थिए।

घटना विवरण अनुसार सेवाग्राही पौडेलको १२ कट्ठा ऐलानी जग्गा रहेको छ। सो ऐलानी जग्गाको मोठ कायम नभएको र मोठ कायम गर्न उनी भूमि आयोगकाका कर्मचारीसमक्ष पुगेका थिए।

कर्मचारीले सुरुमा मोठ कायम गर्न एक लाख १० हजार ९ सय राजश्व लाग्ने पौडेललाई बताएका थिए। पौडेलले यति ठूलो रकम तिर्न नसक्ने कर्मचारीलाई बताउँदै आएका थिए। त्यसपछि कर्मचारीले ८० हजार लाग्ने बताए। सो रकम तिर्न उनी तयार भए। कर्मचारीले उनलाई आइतबार बिहान ३९ हजार ६ सय रुपैयाँ बैङ्कमा जम्मा गरेर भौचर ल्याउन लगाए। सो रकम जम्मा गरेर भौचर ल्याएपछि कर्मचारी नेपालले थप ४० हजार रुपैयाँ पौडेलसँग घुस लिएको हल्दिबारी १ का वडाध्यक्ष देवी थापाले बताए।

‘पौडेललाई आइतबार दिउँसो एकान्त ठाउँमा बोलाएर कर्मचारी नेपालले ४० हजार रुपैयाँ घुस लिएका रहेछन्,’ वडा अध्यक्ष थापाले भने, ‘पौडेलको भाइले घुस लिएको कुरा थाहा पाएपछि कर्मचारीलाई फोन गरेर थर्काएका थिए, त्यसपछि तीनै जना कर्मचारी घटनालाई ढाकछोप गर्न सोही दिन साँझ नै पौडेलको घर पुगेका थिए।’

‘घुस लिएको कुरा बाहिर आएपछि स्थानीय प्रहरी लिएर हामी पनि पौडेलको घर पुग्यौँ। कर्मचारीहरू त्यही बसेका रहेछन्। उनीहरूलाई सोधपुछ गर्दा रकम लिएको स्वीकारे। सो रकम उनीहरू बसेको कोठामा रहेको जवाफ पनि कर्मचारीले सबैको अगाडि फर्काए। त्यसपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली बोलाएर उनीहरू बस्ने कोठामा खानतलासी गर्दा कोठाबाट २३ हजार रुपैयाँ नगद फेला पर्‍यो,’ वडा अध्यक्ष थापाले भने, ‘रकम फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी जिल्ला लग्यो।’

ती कर्मचारीहरुले हल्दिबारीका अन्य सेवाग्राहीहरुसँग पनि घुस लिएको घटना खुल्न थालेको बताउँदै उनले भने, ‘उनीहरुले यसअघि एकजना सेवाग्राहीसँग १२ हजार रुपैयाँ लिएका रहेछन्।’

सेवाग्राही पौडेलले उनीहरुविरूद्ध सोमबार जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराइसकेका छन्। यता पक्राउ परेका तीन कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र उनीहरूको बारेमा अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट म्याद थपको लागि माग गरिएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए।

प्रतिकृया दिनुहोस्