News Portal

रंगमञ्चमा यथार्थ: कुनै जमानाका जमिनदारहरु आज कसरी सुकुम्बासी भए ?

नवराज सुवेदी
४५४ पटक

मेचीनगर, २४ असोज । नाट्य क्षेत्रमार्फत समाज परिवर्तनका कयौँ मुद्दाहरु उठाउँदै आएको परिवर्तन थिएटर झापाले पुन एकपटक आदिवासीहरुको कथा नाटक ‘म्लेच्छ’ रंगमञ्चमा उतार्दैछ । कुनै जमानाका जमीनदारहरु आज कसरी सुकुम्बासीमा परिणत भए ? जमीनदार आदिवासीहरु बहुसंख्यकको जालझेलमा परेर कसरी जमीनबाट बेदखल भए ? मुलत यी र यस्ता प्रश्न उठान गर्ने यस नाटक ठुलो चुनौतीका बिच थिएटरका कलाकारले समाजसामु पस्कदैँछन् ।

नेपाली समाजले नबुझेको, नजानेको र नभोगेको कथा होइनन् यी । पत्रपत्रिकामा नलेखिएका विषय पनि होइनन् । तर, त्यसबेलाका यथार्थलाई खोतलेर, वास्तविकतालाई बुझेर अनि ठुलो चुनौतीको सामना गरेर समाजलाई देखाउन खोजेको आदिवासीको पलायनको कथा भने हो । नाटकका निर्देशक गणेश बस्नेतले शुरुमै भनेका छन् ‘आदिवासी समुदायका कथामाथि नाटक निर्देशन गर्नु ठुलो चुनौती हो । तर, मैले यसपटक चुनौतीको सामना गर्ने संकल्प गरेँ ।’ अर्थात, यो जमानाबाट फर्किएर त्यो जमानाको यथार्थलाई रंगमञ्चमा उतार्नु ठुलो चुनौती रहेको उनले औंल्याएका छन् ।

यहि असोज २५ गतदेखि कात्तिक ३ गतेसम्म काँकरभिट्टामा मञ्चन हुने यस नाटकमा १७ कलाकारको प्रस्तुती रहन्छ । जसमा कोही मुखियाका रुपमा देखिन्छन् त कोहि हाकिम, निमसरी अनि केहि आदिवासी गाउँलेहरुका रुपमा रंगमञ्चमा भेटिन्छन् । दिनको २ बजे र साँझ ५: ३० बजे गरी दिनको दुई शो मञ्चन हुने यस नाटक ‘म्लेच्छ’ले दर्शकहरुलाई मनोरञ्जन त दिन्छ नै समाजमा केहि प्रश्नहरु पनि छाडेर जान्छ । जुन प्रश्नहरुको विमर्श नेपाली समाजले सदैव गरिरहन्छ तर, सायदै निचोड भट्टाउँदैन ।

प्रतिकृया दिनुहोस्