झापा, २५ असाेज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् । बुधबार झापाको बिर्तामोडमा समाजवादी मोर्चा झापाको सन्देश सभालाई सम्बोधन गर्दै उनले माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको ख्याल गर्नु पर्ने धम्कीसमेत दिएका छन् ।
‘जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गरिँदैछ यहाँ । यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन,’ विप्लवले भने, ‘जो अपराधीकरण गर्ने उद्देश्यले आएको छ नि ऊसले आफ्नो जीवनको पनि ख्याल गर्नु पर्छ । र, उसले नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको पनि ख्याल गर्नुपर्छ ।’
जनताले लडेको युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नभएको पनि उनले पटकपटक दोहोर्याए । ‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र । २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र । जनयुद्ध मात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो । तर त्यो युद्धलाई पनि अपवादको रुपमा अपराधीकरण गर्न खोजिदैछ यहाँ’, उनले भने, ‘त्यो पनि अपवाद हो । जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद हो । यो जनताले लडेको युद्ध हो ।’
महासचिव विप्लवले भने मुलुकको राज्यसत्ता देख्नलाई माओवादीको हातमा देखिएपनि यहाँका राजनीतिक दलको हातमा नभएर यो सत्ता मुठ्ठीभर दलालहरुको हातमा गएको भन्दै शिक्षा, स्वास्थ्य, रोजगार जस्ता संवेदनशील र जनताको नैसर्गिक अधिकार समेत खोसिएको उनको भनाइ थियोे । हिजो माओवादीहरुमा केहि मन नमिलेर अलग अलग भएपनि अब एक हुने बेला आएको र मुलुकलाई जोगाउन साझा धारणाका साथ समाजवादी मोर्चा गठन भएको भन्दै विप्लवले भने, ‘समाजवादी मोर्चा गठन भएपछि केहि मानिसहरु तिल्मिलाउन थाले ।’