झापा, २९ असोज । डेरी एशोसिएसन नेपाल कोशी प्रदेशले सरकारले दुधमा गरेको मुल्यबृद्धि तत्काल फिर्ता गर्न आग्रह गरेको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन पत्रकार सम्मेलनमा डेरी ब्यवसायिले सरकारले समस्याबारे तत्काल सम्बोधन नगरे डेरी उद्योगमा संकट र कृषक पलायन हुने अवस्थामा पुगेको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन आग्रह गरेको हो ।
सरकारले दुई वर्षमा एक पटक दुधको मूल्यवृद्धि गर्न पाउने नियम नै बनाएको छ । अघिल्लो बर्ष र गतबर्षको फागुनमा सरकारले दुधको मुल्य दुई पटक वृद्धि गर्दै १० रुपैयाँ बृद्धि गरेको थियो । एसोसिएसनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष राजन चिमरियाले अन्तराष्ट्रिय बजारको अवस्था बिश्लेषण नगरी हचुवाको भरमा दुधको मुल्यबृद्धि गर्दा यतिबेला ब्यवसायी र किसान सबैभन्दा मारमा परेको बताए ।
चिमरियाले कोशी प्रदेशमा ५ लाख केजी नौनी (घिउँ) स्टक रहेको बताए । नौनीको पनि उपभोग्य मिति गुज्रने समय आउन लागेको र केही डेरी सञ्चालकले नष्ट गर्न थालेको उनले जानकारी दिए । नेपाली बजारमा दुधको अस्वभाविक मूल्यबृद्धि गरिएपछि भारतीय बजारबाट खुल्ला दुध र दुधजन्य पदार्थ नेपाल आउन थालेकाले नेपालमा ‘मिल्क होलिडे’ गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।
‘भारतीय कृषकलाई त्यहाँको सरकारले अनुदान बढी दिन्छ, त्यसकारण उनीहरु सस्तो मूल्य राखेर दुध बिक्री गर्न सक्छन्, चिमरियाले भने-`नेपालमा विधुतमा छुट छैन, अनुदान छैन, बढाएको मूल्य चोकर उद्योग, दाना उद्योग र पशु औषधी उद्योगले लगेका छन्, सरकारले त्यसको नियमन गर्न सकेको छैन ।’
दुधको मूल्यबृद्धिसँगै नेपालमा उत्पादित दुधजन्य सामग्रीको मूल्य १० प्रतिशतले बृद्धि भएको छ । जसका कारण बिदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न नसकेको उनले बताए । प्रतिष्पर्धामा सस्तो मूल्यमा अरु देशको उत्पादनले उछिनेपछि नेपाली उत्पादन बिक्री नभएको हो ।
यसअघि नेपालमा उत्पादित छुर्पी युरोप र अमेरिका, दुध भारत र चीनको तिब्बत तथा घिउँ जापान निर्यात हुँदै आएको थियो । यतिबेला दुध भारत निर्यात हुँदै गरेको भएपनि पहिलाको तुलनामा थोरै परिणाममा भारतीय बजारबाट माग हुन थालेको हुनाले नेपालमा मिल्क होलिडे गर्नुपर्ने अवस्था आएको ब्यवसायीको भनाई छ । अहिले भारतमा दुधको मूल्य ५६ रुपैयाँ प्रतिलिटर छ भने नेपालमा ६६ रुपैयाँ रहेको उनले बताए । दुधजन्य पदार्थको निकासीमा उत्पादन लागत बढेसँगै अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निर्यात ठप्प भएको महासचिव हेमचन्द्र खनालले बताए । जसको कारण नेपाली उद्योगीसँग ६ अर्व भन्दाबढीको दूग्ध पदार्थका सामान स्टक रहेको छ । तयार गरिएका सामान विक्री नहुँदा दुध उद्योगहरुले किसानको पैसा समयमा भुक्तानी दिन नसक्ने अवस्था सिर्जना भएको बताएका छन् ।
दुध तथा दुग्ध पदार्थको अत्यधिक स्टकका कारण किसानलाई दुधको रकम भुक्तानी प्रभावित हुन थालेको जानकारी दिदै किसान दूग्ध पेशाबाट पलायन हुने सम्भावना अत्याधिक बढेको उनले बताए । दूग्ध क्षेत्रमा आएको विकराल अवस्थाले आगामी ८ देखि १० महिनापछि सवै व्यवसायीक कृषक पलायन हुने खतरा भएका देखिएको छ । सरकारले दूग्ध क्षेत्रमा लगानी गरेको रकम बालुवामा पानी बराबर हुने अवस्था देखिएको छ ।
नेपालमा मूल्यबृद्धिका कारण दुधको मूल्य बढेपछि भारतबाट दूध र दुधजन्य परिकार चोरीको माध्यमबाट आयात हुँदा डेरी उद्योगको कारोबार खच्किदै बजार तहसनहस भएको डेरी एशोसिएसन नेपाल कोशी प्रदेशका अध्यक्ष गंगाबहादुर खड्काले गुनासो पोखे । अन्तराष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा दुधको मूल्य उच्च भएपछि दुध र दुधजन्य पदार्थ बिक्री नभएर सड्ने अवस्थामा रहेको उनको भनाई थियो ।
यहीँ अवस्था रहेको खण्डमा नेपालका ८० प्रतिशत दुध उत्पादक कृषक पेशाबाट बिस्थापित हुने बताए । उनले मुल्यबृद्धि फिर्ता लिने, यो भन्दा बढी दुध उत्पादनमा रोक लगाउने, उत्पादनको बजारिकरणमा भूमिका खेल्ने लगायतको काम सरकारले तत्काल गर्नुपर्ने बताए । एसोसिएसनले दुधजन्य पदार्थको बिक्री नभएपछि आगामी महिनाबाट किसानको रकम भुक्तानी गर्नसमेत नसक्ने अवस्था आउने बताएको छ । हाल नेपालमा दैनिक ७ लाख लिटर दुधको कारोबार हुने गरेको छ भने कोशी प्रदेशमा ३ लाख लिटर कारोबार हुने गरेको छ ।
उनले दुधको अस्वभाविक मूल्यबृद्धिले किसान र व्यवसायी पलायन हुने खतरा बढ्दै गएको बताए । उनले दुध खरीद गरेर छुर्पी बनाउँदै गरेकोमा अन्य देशले सस्तोमा उत्पादन गरेको छुर्पीले नेपाली उत्पादनलाई बिस्थापन गर्न थालेको बताए । एसोसिएसनले पटक-पटक राज्यको सम्बन्धित निकायलाई सो बिषयमा ध्यानाकर्षण गराउँदासमेत सुनुवाई नभएको जनाएको छ ।
राज्यले समस्या समाधान गर्न विकल्पको रुपमा किसानलाई उत्पादन लागत कम गर्ने उपाय खोज्नुपर्नेमा अव्यबहारिक मूल्यबृद्धि गरेर दुधमा आत्मनिर्भर बन्दै गएको नेपालको बजारलाई तहस–नहस बनाउदै लगेको उनीहरुको गुनासो छ । डेरी एसोसिएसनका केन्द्रीय सदस्य एबम् प्रदेश सचीव अशेषकुमार बुढाथोकीले पत्रकार सम्मेलन संचालन गरेका थिए । उनले एउटा डेरी उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सयौंले रोजगार पाएका बताए । ब्यवसाय धरासायी हुँदा लाखौंको रोजगारी गुम्ने खतरा बढेको उनको भनाई थियो ।