News Portal

झापामा घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ

रातोपोस्ट संवाददाता
३२२ पटक

झापा, ३० असोज । नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई एक लाख २५ हजार घुसरकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

उनका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो । भद्रपुर नगरपालिका–७ स्थित विचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद रु ७० हजार र ५५ हजारको चेकसहित रु एक लाख २५ हजार घुस रकम लिइरहेका अवस्थामा उनीहरु पक्राउ परेको प्रवक्ता दाहालले बताए ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको उनले जानकारी दिए । उनीहरुलाई आज (मङ्गलबार) आयोगको केन्द्रीय कार्यालय काठमाडौँमा पठाइने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्