News Portal

प्यारीभिट्टा बसपार्कको आज दोस्रो पटक उद्घाटन, अब नियमित संचालन होला ?

नवराज सुवेदी
६५३ पटक

मेचीनगर, ३० असोज । पूर्वकै प्रमुख आयोजनाका रुपमा विकास गर्ने लक्ष्य राखिएको मेचीनगर–७ मा अवस्थित प्यारीभिट्टा बसपार्कको आज दोस्रो पटक उद्घाटन गरिएको छ । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बसपार्क परिसरमा आयोजित एक कार्यक्रमका बिच रिबन काटेर बसपार्कको उद्घाटन गरे ।

प्यारीभिट्टा बसपार्क निर्माण सम्पन्न भएर आज पहिलो पटक उद्घाटन भएको भने होइन । यसअघि २०७४ सालमा पनि बसपार्कको औपचारिक उद्घाटन भएको थियो । फरक यति हो, त्यसबेला नगरप्रमुख बिमल आचार्य थिए अनि अहिले गोपालचन्द्र बुढाथोकी । २०७४ सालमा उद्घाटन भएर केहिसमय संचालन भएको बसपार्क त्यसपछि भने बन्द भयो । कोरोना महामारी लगायत विविध कारणले त्यसबेला बसपार्क बन्द भएको सरोकारवालाहरु बताउँछन् ।

तर, अहिले आएर फेरि सोही बसपार्कको उद्घाटन गरिएको छ । बसपार्कको उद्घाटन गर्दै नगरप्रमुख बुढाथोकीले अब बसपार्कलाई पुर्ण व्यवस्थित बनाएर संचालन गरिने उद्घोष गरे । ‘ठुलो चुनौतीका बिच निर्माण गरेको बसपार्कको हामीले उचित सदुपयोग गर्न सकेनौँ, अहिले आएर भने नगरपालिकाले समिति निर्माण गरेको छ । अब यो समितिले बसपार्कलाई व्यवस्थित बनाएर संचालन गर्छ’, उनले भने, ‘नगरको मातहतमा समिति बनेको हुनाले अब नगरपालिकाले कार्यविधि बनाउँछ, आवश्यक निर्णय गर्छ र बसपार्कलाई संचालन गर्छ ।’

विगतमा विविध कारणले बन्द भएको बसपार्क अब भने नियमित संचालन हुने आशयका साथ नगरप्रमुखले सबैलाई बिश्वस्त बनाए । तर, बसपार्कलाई जग्गा दिने जग्गादाताहरु भने अझैपनि बसपार्क नियमित संचालन हुनेमा ढुक्क छैनन् । बिचैमा व्यवस्थापन नमिलेर बन्द हुने हो कि ? उनीहरुलाई आशंका छ ।

यद्यपी, बसपार्क शुभारम्भ कार्यक्रममा बोल्दै बसटर्मिनल बसपार्क तथा यातायात व्यवस्थापन समितिका अध्यक्ष डिल्ली घिमिरेले अब बसपार्क नियमित संचालनमा आउने बताए । आवश्यक नीति निर्माण गर्दै व्यवसायीहरुसँग छलफल गरेर बसपार्क संचालन गरिने उनको भनाई छ ।

बसपार्क शुभारम्भ कार्यक्रममा नगरप्रमुख बुढाथोकी, निवर्तमान नगरप्रमुख बिमल आचार्य, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेककुमार रेग्मी, मेचीनगर ७ का वडाध्यक्ष प्रह्लादमणी ओली, नेकपा एमाले नगर इन्चार्ज चन्द्र प्रसाई, नेपाली कांग्रेस नगर सभापति सुदय पनेरु, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति कमल गौतम, राप्रपा नगर सचिव विशालकृष्ण बाँस्तोला, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ, पुर्व मेची बस यातायात प्रालिका अध्यक्ष बिष्णु श्रेष्ठ, जग्गादाता टेकबहादुर शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, व्यवसायीहरु तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

बसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिल्ली घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका सदस्य सुरेन्द्र बुढाथोकीले स्वागत गरेका थिए भने समितिका सदस्य सचिव माधव अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्