News Portal

भूकम्पमा पुरिए दिदीबहिनीः एमबीबीएसको तयारीमा थिइन् उर्जा, भिसा पर्खिरहेकी उपासना

रातोपोस्ट संवाददाता
२५८ पटक

जाजरकाेट, १९ कार्तिक । शुक्रबार मध्यरातमा भूकम्प जाँदा गोरखबहादुर सिंहको परिवार खलंगामा मस्त निद्रामा थियो । भूकम्पले घर भत्किँदा उनले दुई छोरी र एक आफन्त गुमाए । उनी आफैँ, जेठी छोरी र श्रीमती पनि घाइते छन् । सिंह दम्पतीको जिल्ला अस्पताल जाजरकोटमा र छोरीको नेपालगञ्जमा उपचार भइरहेको गोरखका भाइ सुरेन्द्र सुमन सिंहले बताए ।

सिंहकी माइली छोरी २१ वर्षीया उपासना सिंह अस्ट्रेलिया जाने तयारीमा थिइन् । सम्पूर्ण प्रक्रिया सकेर भिसाको प्रतीक्षामा थिइन् । कान्छी छोरी १८ वर्षीया उर्जा प्लस टु सकेर एमबीबीएसको तयारी गर्दै थिइन् । उनीहरूसँगै बितेकी २५ वर्षीया मेलिना इन्जिनियरिङ पढ्दै थिइन् । मृतक तीनै जनाको शनिबार नै अन्त्येष्टि गरिएको छ ।

तीन छोरी, एक आफन्तकी छोरी र श्रीमतीसहित उनी खलंगामा बस्दै आएका थिए । उनको परिवार बसेको घर भूकम्पमा भत्किँदा उनीहरू भग्नावशेषमा पुरिए । रातको समय भएकाले उनीहरूको तत्कालै उद्दार हुन सकेन । चार घण्टापछि उद्दार हुँदा चार जनाको मृत्यु भइसकेको थियो ।

घटनाका बेला सुरेन्द्र बारेकोट गाउँपालिकामा थिए । शुक्रबार रातिको सो भूकम्पको केन्द्रबिन्दु बारेकोटकै लामीडाँडा मानिएको छ । घाइते गोरखको अवस्था खतरामुक्त भए पनि सन्तानवियाेगले सिंह परिवार विक्षिप्त भएको छ । समयमै उद्दार र उपचार हुन सकेको भए भतिजीहरूलाई बचाउन सकिन्थ्यो भन्ने सुरेन्द्रलाई लागेको छ । ‘समयमै उद्धार हुन नसक्दा हाम्रो परिवारले यति ठूलो शोकको सामना गर्नु परेको छ’, उनले भने ।

प्रतिकृया दिनुहोस्