News Portal

उपाधिका लागि नेपाल र ओमान भिड्दै

रातोपोस्ट संवाददाता
१६९ पटक

काठमाडाैं, १९ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज आइतबार नेपाल र ओमान भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै ओमानसँगको भेट पक्का गरेको थियो । यता ओमानले भने बहराइनलाई १० विकेटको सानदार जित निकाल्दै उपाधि नजिक पुगेको थियो । यसअघि नै सेमिफाइनलका खेल जित्दै नेपाल र ओमान दुवै टोलीले सन् २०२४ मा हुने विश्वकपमा स्थान बनाइसकेका छन् ।

नेपाल र ओमान दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाइँ पनि हो । यसअघि समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो । नेपाल आजको खेलमा त्यो हारको बदला लिदै घरेलु मैदानमा उपाधि राख्न चाहान्छ। उता ओमान भने नेपालविरुद्ध पहिलो खेलकै नतिजा दोहोराउने योजनामा हुनेछ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले सेमिफाइनल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गर्न सक्नेछन्। चोटका बावजुद पनि सेमिफाइनल खेलेका दिपेन्द्र सिंह ऐरि आजको खेलमा टोली बाहिर रहने सम्भावना छ । खुट्टाको चोट हुँदा उनले समूह चरणका सबै खेल गुमाएका थिए । तर नेपाली टोली विश्वकपमा छनोट हुन यूएईलाई हराउनै पर्ने दबाबमा हुँदा ऐरि टोलीमा आएका थिए । तर आजको खेलमा भने उनी टोली बाहिर हुन सक्छन्। उनको स्थानमा सन्दीप जोरा नै टोलीमा आउने सम्भावना छ।

प्रतिकृया दिनुहोस्