News Portal

एकीकृत समाजवादीले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

रातोपोस्ट संवाददाता
२४४ पटक

काठमाडाै, २० कार्तिक । नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरूलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले केही दिनअघि जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पबाट प्रभावितहरूलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले सो रकम पार्टी कार्यकर्ताहरूबाट संकलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिए ।

त्यसका लागि पार्टीका संघीय सरकार र प्रदेश सरकारका मन्त्रीहरू, सांसदहरू र जनप्रतिनिधिहरू एवं राजनीतिक नियुक्तिमा गएका व्यक्तिहरूबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उनले बताए । बैठकले भूकम्प प्रभावित स्थानमा उद्धार, राहत र पुनःस्थापनाको काममा सहयोग, सहकार्य र अनुगमनका लागि एक कार्यदल पनि गठन गरेको छ । प्रवक्ता खतिवडाका अनुसार सो कार्यदलको संयोजक पार्टीका उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला रहेका छन् ।

सदस्यहरूमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं, सांसद अमरबहादुर थापा, धनबहादुर बुढा, प्रदेश सांसद कल्याणी खड्का र पार्टीका प्रदेश सचिव कृष्ण बिसी, खगेन्द्र प्रकाश पुरी र पश्चिम रुकुम र जाजरकोट जिल्लाका पार्टी अध्यक्षहरू रहको खतिवडाले जानकारी दिए ।

त्यस्तै, बैठकले असोज १४ देखि २८ गतेसम्म सञ्चालन गरेको समाजवादी जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ । प्रवक्ता खतिवडाले अभियानले नयाँ संविधानमा व्यवस्था गरिएको समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको बिस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरिएको जानकारी दिए ।

अभियानबाट समाजवादको प्रारम्भिक अवस्था नेपालको कृषि क्रान्तिबाट सुरु हुन्छ भन्ने कुरालाई स्थापित गरेको पनि उनको भनाइ छ । बैठकले पार्टीको महाधिवेशन आगामी माघमा काठमाडौंमा गर्ने तय गरेको छ । प्रवक्ता खतिवडाले भोलि (मंगलबार) पार्टी अध्यक्ष माधवकुमार नेपाललगायत १५ सदस्यीय टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्