झापा, २० कार्तिक । बिर्तामोड नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि ५ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।
घटनाको बारेमा दुख व्यक्त गर्दै नगर प्रमुख प्रसाईँले भूकम्पबाट पीडित परिवारको उद्धारको लागि सहयोगको घोषणा गरिएको जानकारी दिइन् । नगरपालिकाले विपत् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ दिने भएको हो । शुक्रबारको भूकम्पले जाजरकोटमा १ सय ५ र रुकुम पश्चिममा ५२ गरी १ सय ५७ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार भूकम्पमा परी २ सय ४६ जना घाइते भएका थिए, उनीहरूमध्ये १ सय ४६ जना प्राथमिक उपचारपछि घर फर्किएका छन्, १ सय १० जना घाइते विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । भूकम्पले ९ सय ३७ घरमा पूर्ण क्षति भएको छ भने २ हजार ९ सय ५४ घरमा आंशिक क्षति पुगेको छ ।