News Portal

एसपीको गाडीले खोसेको सन्थाल परिवारको साहारा

रातोपोस्ट संवाददाता
२४२ पटक

झापा, २८ कार्तिक । साँझ ७ बज्न लागेको थियो । शुक्रवार दिनभरि धानको बिटा बोकेर थाकेका कमल गाउँपालिका ६ गोहावारीका १८ वर्षीय अनिल मर्डी (सन्थाल) खाना खाइवरी ओछ्यानमा पल्टिसकेका थिए । त्यहि वेला साथीहरु खगेन्द्र ताजपुरिया र पूजन राजवंशी घर आइपुगे । साथीहरुले दमकसम्म पुगेर आउन गरेको आग्रहलाई अनिलले टार्न सकेनन् ।

सुत्न लागेका अनिल जुरुक्क उठे अनि खगेन्द्रले ल्याएर आएको बाइकको पछिल्लो सिटमा चढे । खगेन्द्रले चलाएको बाइकको बीचमा चाहिँ पूजन राजवंशी खाँदिएका थिए । ‘म दमक पुगेर आइहाल्छु भनेपछि मैले चाँडो आइज है भने’, आमा मन्जलीले सुनाइन्,‘तर, अवेरसम्म छोरा आएन ।’ ‘आइहाल्छु है’ भनेर हिडेको छोराको अचानक मृत्युको खवर पो आयो । खवर सुनेर आमा अचेत भइन् । मर्डी परिवारका एक्ला छोरा अनिल घरको वायरिङ सिक्दै थिए ।

भेटनरी पढ्ने उनको ठूलो धोको थियो । तर, विपन्नताले धोको पुरा गर्न दिएन । अन्ततः उनी वायरिङ सिकेर परिवारको गर्जो टार्ने योजनामा थिए । बेला बेला खेतमा काम गर्न पनि जान्थे । जीवनभर हली वसेपछि जमीनदारले दिएको एक कठ्ठा जमीनमा सानो झुपडी हालेर मर्डी परिवार वसेको छ । अनिलका बुबा बब्लु गत वर्ष वैदेशिक रोजगारीका लागि खाडी गएका थिए । दुई दिदी वहिनी र आमाको एक्लो साहारा अनिल नै थिए । ‘हाम्रो साहारा नै गुम्यो’, आमा मन्जलीले बिलौना गाइन् ।

गौरादममा रहेकी अनिलकी दिदी शोभालाई राति ९ः३८ मा अपरिचति नम्वरवाट फोन आयो । पहिलो कल उनले उठाइनन् । दोश्रो कल उठाउँदा अनिलको दुर्घटनामा मृत्यु भएको खवर कसैले दियो । उनले गौरादहवाट गोहावारीमा फोन गरेर खवर गरिन् । आमा मन्जलीलगायत आफन्त खवर सुन्ने वित्तिकै अत्तालिदै विएण्डसी अस्पताल तिर दौडिए ।

हाउजि बिङ्गो खेल्न दमकतिर निस्किएका तीनै जनाले महोत्सव हेर्न भनी अचानक मेचीनगरको धुलावारी तिर जाने योजना बुनेछन् । उनीहरु कनकाई नगरपालिका ८ विरिङ पुल आइपुग्दा करिव ९ बज्न लागेको थियो । पुल पार गर्नै लागेका थिए । पूर्ववाट पश्चिमतिर आइरहेको मे १ च ७८३९ नम्बरको स्कारपिओ गाडीले ठक्कर दियो । नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत प्रहरी उपरीक्षक भीमवहादुर दाहाल आफैले हाँकेको गाडीले अघिल्लो गाडीलाई ‘ओभरटेक’ गर्ने क्रममा मर्डीलगायतका युवा चढेको बाइकलाई ठक्कर दिएको थियो । दाहाललाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार अघिल्लो गाडीलाई ओभरटेक गर्न खोज्दै पश्चिमतिर वाट तीव्रगतिमा आएको बाइक ठोक्किन पुगेको थियो ।

‘एसपी सावले चढाएको गाडी यति तीव्र गतिमा रहेछ कि ठोक्किने वित्तिकै बाइकमा सवार तीनमध्ये दुई जना त पुलबाट तल विरिङ खोलामा झरेका थिए’, अनिलका काका मानसिंह मर्डीले भने,‘ओभरटेककै कारण र्दुटना भएको देखिन्छ ।’ दुर्घटनापछि एसपीले झापा प्रहरीलाई जानकारी गराए । घाइतेलाई अस्पताल पठाउन सघाएर उनी धरानतिर लागे । बाइक चालक घाइते ताजपुरिया मात्रै दुर्घटनास्थलमा देखिए ।

उनलाई मात्रै एम्वुलेन्समा हालेर अस्पताल लगियो । पछि उनले अरु दुई जना साथीहरु पनि रहेको बताएपछि प्रहरी करिव एक घन्टापछि पुनः घटनास्थल पुगेर खोजतलास गर्दा पुलमुनी छटपटाइरहेको अवस्थामा दुई जना घाइतेलाई फेला पारि अस्पताल लगिएको थियो । ‘समयमै उद्धार भएको भए अनिलको पनि बाँच्न सक्ने सम्भावना थियो’, एक आफन्तले भने,‘तर, प्रहरीको लापर्वाहीले उनीहरुको उपचार ढिलो भयो ।’

टाउकोमा गम्भीर चोट लागेका अनिलको घटनास्थलमै मृत्यु भइसकेको थियो । राजवंशीको अहिले आइसीयुमा उपचार भइरहेको छ । चालक ताजपुरियाको अवस्था सामान्य छ । ताजपुरियाले प्रहरीलाई दिएको वयान अनुसार तीनै जनाले दमकमा रक्सि खाएर पूर्व लागेका थिए । ‘गाडीको तीव्रता हेर्दा एसपी सावले पनि रक्सी पिएको अनुमान गर्न सकिन्छ’, एक आफन्तले भने । प्रहरीका अनुसार उनीहरूले मापसे गर्नुका साथै एकै वाइकमा तीन जना विना हेल्मेट चढेको र चालकसंग लाइसेन्स समेत नरहेको पाइएको छ ।

मन्जली आफन्त सहित राति नै अस्पताल पुगिन् । तर, छोराको अनुहार हेर्न पाइनन् । विहान इलाका प्रहरी कार्यालयमा जाहेरी दिन गइन् । तर, प्रहरीले जाहेरी लिनै मानेन । ‘एक जना सांसदलाई भनेपछि मात्रै पुलिसले जाहेरी लियो’, अर्का आफन्तले भने,‘नत्र जाहेरी नै लिन नमानेको थिएन ।’ प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजेशनाथ बास्तोलाले दुर्घटनामा संलग्न एसपी दाहाललाई कानुन वमोजिम कार्वाही हुने जनाए । उनले भने,‘दुर्घटनाको कानुनले जे आकर्षित गर्न त्यही वमोजिम कार्वाही हुन्छ ।’ दाहाल अहिले इलाका प्रहरी कार्यालय विर्तामोडको नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्