झापा, १ मसिर । झापाको मेचीनगर-१५ स्थित हाम्रो ज्यामिरगढी युवा समाजले एम्बुलेन्स खरिदका लागी वडालाई दवाव दिने उद्देश्यले शुक्रबार रकम हस्तान्तरण गरेको छ ।सर्वसाधारण बिरामी हुँदा हस्पिटलसम्म पुर्याउन एम्बुलेन्स आवस्यक भएको भन्दै`दवाव अभियान´अन्तर्गत एक कार्यक्रमबीच समाजले रकम हस्तान्तरण गरेको हो ।
युवा समाजले तिहारमा स्थानीय ठाउँमा `भाग्य चिठ्ठा´ रमाइलो मेला आयोजना गरेको थियो । मेलाबाट बचेको रकममध्ये ५ हजार रकम एम्बुलेन्स खरिदका लागि दवावस्वरुप वा सहयोगार्थ भन्दै मेचीनगर-१५ का वडाअध्यक्ष गुणराज भट्टराईलाई हस्तान्तरण गरेको समाजका संयोजक जयराम दाहालले बताए । लामो समयदेखि वडाअध्यक्षले आउँछ भनिएको एम्बुलेन्स नआएपछी कार्यक्रममा ब्यानरमै `कहिँले आउँछ एम्बुलेन्स सेवा ?´ उल्लेख गरिएको थियो ।
हस्तान्तरण गरेको रकम वडाकाे मातहतमा रहने गरी काली मन्दिर पुजा तथा मेला समितिकाे खातामा जम्मा गरेकाे दाहालले जानकारी दिए । कार्यालयलाई पटकपटक मौखिक र लिखित रुपमा निवेदन गर्दै आएको समाजलाई वडाअध्यक्ष भट्टराईले एम्बुलेन्स आउछ भन्दै आएका थिए । तर, वडाअध्यक्षले भनेअनुसार एम्बुलेन्स नआएपछि युवा समाजले दवाव अभियान सुरु गरेको सुरज पाहानले बताए । ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणको स्वास्थ्यमा पर्ने आपतकालीन समस्यालाई सामाधान गर्न एम्बुलेन्स आवश्यक भएको ठहर गर्दै `दवाव अभियान´ संञ्चालन गरेकाे हाम्राे ज्यामिरगढी युवाका सदस्य प्रकाश खड्काले बताए ।