News Portal

मेचीनगरको शहरेडाँगीमा भोलिदेखि महापुराण, पुराण अगावै १५ लाख उठ्यो

रातोपोस्ट संवाददाता
३४८ पटक

झापा, १४ मंसिर । झापाको मेचीनगर-१२ सहरेडाँगीस्थित श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरमा आयोजना गरिएको महापुराणमा आर्थिक सहयोग जुट्न थालेको छ ।

मङ्सिर १५ भोलिदेखि सुरु हुने महापुराणको अन्तिम तयारी पूरा हुँदै गर्दा धार्मिक तथा सामाजिक व्यक्तित्वहरूले पुराण अगावै १५लाख बढी रकम दिने घोषणा गरिसकेको पुराण आयोजक समितिले जनाएको छ ।

सार्वजनिक मन्दिरको चौतर्फी विकास गर्ने उद्देश्यले चर्चित भागवत वाचिका राधिका दासीको प्रमुख कथा वाचकत्वमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन-धान्यञ्चल महापुराणका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । महापुराणमा प्रमुख अतिथि रुपमा संघीय सांसद एवम् उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको महापुराण आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।

चारआली, बुधबारे चोक र शहरेडाँगीमा मूल प्रवेशद्वार गेट निर्माण गरिएर सिङारिएको छ । प्रत्येक चोक-टोलमा ब्यानरसहित माइकिङ प्रचारप्रसारलाई तीव्र बनाइएको छ । महायज्ञ महापुराणका लागि ३ हजार बढी आगन्तुक अटाउने पण्डाल स्थलसहित कथा बाचिकासहितको टिमलाई सिंहाशनको व्यवस्थापन गरिएको छ । सांस्कृतिक विभिन्न जातजातिको पहिचान झल्काउने झाँकी, पञ्चेबाजासहित १ सय ८ थान कलश यात्रा गरिने छ । चारआलीस्थित पाउँ पाथीभरा मन्दिरसम्म कलश यात्राको तयारी गरिएको छ ।स्वागतका लागि व्यवस्थापन टिम, प्रसादको व्यवस्थापन, प्राविधिक व्यवस्थापन, आर्थिक समन्वयका लागि व्यवस्थापनलगायतको व्यवस्थापन लागि २१ वटा उपसमितिले निरन्तर जुटेर तयारी पूरा गरिएको सचिव प्रेमराज घिमिरेले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई वडवा दिने उद्देश्यले बिर्सिँदै गएको नृत्य कर्म, धार्मिक अनुशासन, नयाँ पुस्तालाई धार्मिक अनुष्ठानको बारेमा अवगत गराउन, ज्येष्ठ नागरिकलाई चौतारी निर्माण गरी अनुभवको आदानप्रदान गराउन, धार्मिक तथा लोप हुन लागेका पुस्तक, प्रचीनकालका प्रयोग गरिने सामाग्री, बाजागाजाको व्यवस्थापन गर्न, चारआली र बुधबारेमा व्यवस्थित अतिथि सदन नहुँदा सामाजिक कार्य गर्न धुलाबारी र बिर्तामोड लगायत टाढा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै विवाह , व्रतबन्ध, पार्टीका लागि व्यवस्थित गर्न अतिथि सदन वा सामुदायिक भवनको निर्माण गर्ने, श्रीपञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरलाई घेराबारा तथा सञ्चालनलाई व्यवस्थित गर्न अक्षयकोषको स्थापना गर्ने योजना रहेको महापुराण व्यवस्थापन घिमिरेले बताए ।

उक्त मन्दिरलाई धाम र सामाजिक कर्मका लागि गर्न तनमन र वचनले आर्थिक तथा जिन्सी सहयोग गर्ने धर्म अनुरागीलाई चर्चित कथा बाचिका राधिका दासीको बाहुलीबाट सम्मान एवम् अभिनन्दित गरिने कोषाध्यक्ष राजन चिमरियाले बताए । महायज्ञबाट १ करोड बढीको सहयोग जुटाउने अपेक्षा गरिएको महापुराण मूल व्यवस्थापन समितिको छ ।

स्थानीय रवीन्द्र-गंगादेबि र लक्ष्मी प्रसाईँले २०७२ सालमा दान गरेको २ कट्ठा ३ धुरसहित मन्दिर निर्माण गरिदिएर समाजलाई हस्तान्तरण गरेका थिए । हालसम्म दाताले जमिन थपिदिएपछि करिब ५ कट्ठा बढी जमिन मन्दिरको नाउँमा आइसकेको सञ्चालक समितिका अध्यक्ष इन्द्रमणि प्रसाईँको भनाई छ ।

प्रतिकृया दिनुहोस्