News Portal

हिन्दु सनातन धर्म संसारको उच्च संस्कारिक विधिको धर्म हो- उपसभामुख राना

रातोपोस्ट संवाददाता
१६७ पटक

झापा, १५ मंसिर । उपसभामुख इन्दिरा राना मगरले हिन्दु सनातन धर्म संसारको उच्च संस्कारिक विधिको धर्म भएको बताएकी छिन् । झापाको मेचीनगर-१२ सहरेडाँगीस्थित पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरको चौतर्फी बिकासका लागि शुक्रबारदेखि आयोजित महापुराणको उद्घाटनपछि प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपसभामुख रानाले उक्त कुरा बताएकी हुन् ।

संसारमा मानिदैँ आएका अन्य सबै धर्मको बारेमा चर्चा गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेकी रानाले हिन्दु सनातन धर्म सबैको साझा धर्म भएको बताएकी हुन् । परम्परागत र आधुनिक समयमा यसको महत्त्वबारे बताउँदै उनले पछिल्लो समयमा हिन्दु सनातन साँगुरिदै आएको भन्दै सबै सचेत हुनुपर्ने बताइन् । उनले महिला हिंसालाई अन्त्य गर्न सरकारले लगानी गर्नुपर्ने बताइन् । १६ दिने अन्तर्राष्ट्रिय हिंसा दिवस चर्चा गर्दै लैगिक हिंसालाई अन्त्य गर्ने सरकारीस्तरको लगानीले मात्रै सफल हुने मगरको धारणा थियो ।

कार्यक्रममा मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, मन्दिर संचालक समितिका अध्यक्ष इन्द्रमणी प्रसाईले धारणा राखेका थिए । सभापति तिलकप्रसाद गिरीको अध्यक्षतामा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन-धान्यञ्चल महापुराणमा भक्त खेवाङ्गले स्वागत तथा प्रेमराज घिमिरे र केशब भट्टराईले संचालन गरेका थिए । कार्यक्रमपछि चर्चित भागवत वाचिका राधिका दासीले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन-धान्यञ्चल महापुराण सुरु गरेकी थिइन् ।

पुराणको पहिलो दिन मन्दिर धाम परिसरवाट चारआलीस्थित पाउँ पाथीभरा मन्दिरदेखि कालिझोडा हुँदै १ सय ८ कलश, सांस्कृतिक झाकीसहितको कलशयात्रा सम्पन्न गरेको थियो ।

प्रतिकृया दिनुहोस्