झापा, २४ मंसिर । मध्यरातमा चालक निदाएपछि काँकरभिट्टा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष कमल थापा चढेको कार भारतमा दुर्घटना भएको छ । भारतको आसाममा कार दुर्घटना हुँदा थापासहित तीनजना गम्भीर घाइते भएका छन् । शनिबार बिहानको राति १ बजे गुहाटीबाट मणिपुर जाँदै गर्दा हजाई भन्ने स्थानको पुलमा कार ठोक्किँदा उनीहरु घाइते भएका हुन् ।
राति १ बजे चालकसहित सबैजना निदाएको बेला कार पुलमा ठोकिएको हुन सक्ने अनुमान परिवारको छ । थापाको गुवहाटीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उनको पछाडिपट्टि ढाडमा चोट लाग्नुका साथै दुईवटा करङ भाँचिएको बताइएको छ । कारमा थापा, उनका आफन्त बब्लु क्षेत्री, क्षेत्रीका आफन्त एकजना महिला र चालक रहेको बुझिएको छ ।
बब्लु क्षेत्रीको टाउकोको हड्डी भाँचिएको, महिलाको खुट्टा भाँचिएको छ भने चालक सकुशल रहेको बताइएको छ ।पानीट्यांकी निवासी बब्लु क्षेत्रीको सासूआमाको १३ दिनको काममा उनीहरु शुक्रबार मणिपुर गएका थिए । अध्यक्ष थापाको टोली गुवहाटीमा काकाको घरमा राति खाना खाएर मणिपुरतिर गएका थिए ।