News Portal

मेचीनगरमा जग्गाको निस्सा वितरण सुरु

रातोपोस्ट संवाददाता
३७८ पटक

झापा, २५ मंसिर । मेचीनगर नगरपालिका भित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरिएको छ ।

सोमबारदेखि मेचीनगर नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण सुरु गरेको हो ।

आज मेचीनगर–१, २, ३ र ४ नम्बर वडाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा वितरण गरिएको छ ।

पहिलो चरणमा मेचीनगर–३ नम्बर वडा कार्यालयबाट जग्गाको निस्सा वितरण सुरु गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर नगरप्रमुख
गोपाल चन्द्र बुढाथोकी, उपमेयर मीना पोखरेल उप्रेतीले उनीहरुलाई निस्सा वितरण गरेका थिए ।

३ नम्बर वडाका भूमिहीन दलित ४५ जना, भूमिहीन सुकुम्वासी ८६ जना र अव्यवस्थित बसोवासी ३ सय ८८ जना गरी जम्मा ५ सय १९ जनालाई निस्सा वितरण गरिने वडाध्यक्ष हर्कबहादुर बस्नेतले जानकारी दिए ।

त्यसैगरी २ नम्बर वडाका भूमिहीन दलित ११ जना, भूमिहीन सुकुम्वासी १२ जना र अव्यवस्थित बसोवासी २सय ४० जना गरी जम्मा २ सय ६३ जनालाई निस्सा वितरण गरिने वडाध्यक्ष दिपक बरालले बताए ।

त्यसैगरी, १ नम्बर वडाका भूमिहीन दलित ८ जना, भूमिहीन सुकुम्वासी २० जना र अव्यवस्थित बसोवासी १ सय १९ जना गरी जम्मा १ सय ४७ जनालाई निस्सा वितरण गरिने वडाध्यक्ष रामकुमार राईले बताए ।

४ नम्बर वडाका भूमिहीन दलित ३ जना, भूमिहीन सुकुम्वासी २४ जना र अव्यवस्थित बसोवासी १ सय ९६ जना गरी २ सय २३ जनालाई निस्सा वितरण गरिने वडाध्यक्ष अर्जुनकुमार कार्कीले जनकारी दिए ।

लामो समयसम्म सार्वजनिक जग्गामा बसिरहेका भूमिहीन सुकुम्बासीलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति झापाको समन्वयमा मेचीनगरले निस्सा वितरण गरेको हो ।

हालसम्म निवेदन पेस गरेका सुकुम्वासीको पहिचान गरी निस्सा वितरण गर्ने काम भइरहेको मेयर बुढाथोकीले बताए । छिट्टै नै उनीहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने उनले दावी गरे ।

‘पहिलो चरणमा सबै प्रक्रिया पुगेकालाई निस्सा वितरण सुरु गरेका हौं’ मेयर बुढाथोकीले भने– ‘पुर्जा वितरणका लागि केन्द्र र जिल्लाबाट नापजाँच टोली आएर जग्गा छुट्याएपछि पुर्जा वितरण गर्छौं ।’

मेचीनगरको १५ वटा वडाका भूमिहीन दलित ३ सय ७ जना, भूमिहीन सुकुम्वासी १ हजार ८ सय १४ जना र अव्यवस्थित बसोवासी ३ हजार ३० जना गरी जम्मा ५ हजार १ सय ५१ जनालाई निस्सा वितरण गरिने कार्यालयको योजना रहेको छ ।

निस्सा वितरण कार्यक्रम मंसिर २९ गते हुने छ । फर्म भर्न छुटेका, कागज नमिलेका, नामहरु सच्चाउनु पर्ने लगायतका काम एक हप्तादेखि १५ दिनसम्मको समय दिइएको छ ।

मेयर बुढाथोकी, उपमेयर उप्रेती, कार्यपालिका सदस्य ह्दय राजबंशी, कार्यपालिका सदस्य एवम् नगरको भूमि आयोग समितिका संयोजक अमित खम्बु, बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, वडाध्यक्षहरु, कर्मचारी, पत्रकार लगायतको उपस्थितिमा जग्गाको निस्सा वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्