झापा, १४ पुस । झापाको दमकमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । इलामको माङसेवुङ गाउँपालिका– ४ घर भई हाल दमक नगरपालिका– २ मा बस्दै आएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरी आफ्नै ६० वर्षीया श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शनिवार दिउँसो २ बजेको समयमा दमक– २ स्थित मखमली टोलमा कृष्ण विश्वकर्माको घरमा बस्दै आएका धनबहादुरले घरायसी झगडाको क्रममा श्रीमती इन्द्रकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । टाउको, शरीरभरि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना घटे लगतै इलाका प्रहरी कार्यालय दमकले खुकुरीसहित धनबहादुरलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।