News Portal

वाणिज्य बैंकको खाताबाट सेवाग्राहीको ३ लाख ४३ हजार नगद गायब

रातोपोस्ट संवाददाता
१८० पटक

झापा, २९ पुस । राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक सेवाग्राहीको ३ लाख ४३ हजार नगद गायब भएको छ । झापाको शिवसताक्षी नगरपालिका– ६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाको खाताबाट स्थानीय कृष्णकुमार राजवंशीकी श्रीमती आशाकुमारी राजवंशीको रकम गायब भएको हो ।

उनको महालक्ष्मी सेभिङ खाता नम्बर २१७०१०००००२६३००४ बाट सो रकम गायब भएको उनका श्रीमान् कृष्णकुमारले इलाका प्रहरी कार्यालय दमकमा आइतबार लिखित उजुरी दिएका छन् । १५ हजार र २० हजारका दरले पटक पटक गरेर आफ्नो श्रीमतीको खाताबाट सो रकम हिनामिना भएको कृष्णकुमारले बताए । बैंक कर्मचारीकै मिलेमतोमा खाताबाट रकम गायब पारिएको उनले आरोप समेत लगाएका छन् । एटिएम कार्डबाट सो रकम निकालेको देखिन्छ ।

‘जबकि श्रीमतीले एटिएम कार्ड नै बनाएकी छैन,’ उनले भने । बैक खाताबाट हराएको रकमका बारेमा गैर जिम्मेवार जवाफ दिएको बैकले बैक इस्टेटमेन्ट दिन समेत नमानेको स्थानीय चन्द्रमणि पौडेलले बताए । स्थानीयहरूको दबाबपछि मात्र बैक इस्टेटमेन्ट दिएको उनले बताए ।

अर्को कुनै व्यक्तिले खाताबाट सो रकम निकालेको भन्दै बैकले घटना ढाकछोप गर्नलाई १ लाख ३ हजार, १ लाख ४० हजार र १ लाख गरी तीन पटकमा सो रकम आशाकुमारीको खातामा जम्मा गरिदिएको उनको भनाई छ । उजुरीकर्ताले किन र कसले रकम निकालेको भन्दै घटनाको सत्य तथ्य छानबिनका लागि प्रहरीसँगै राष्ट्रिय वाणिज्य बैकको केन्द्रीय कार्यालय काठमाडौँमा समेत आजै उजुरी पठाइसकेको छ ।

प्रतिकृया दिनुहोस्